बिस्केटको ५५ हात लामो लिंगो ढालियो, भैरव भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिंगो आज साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी आज साँझ लिंगो ढालेपछि जात्रा सम्पन्न गरिएको हो ।  
    
बिस्केट जात्राको चौथो दिन हिजो साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिंगो आज दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो ।  

कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिंगो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । लिंगो ठड्याउनुअघि लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिंगो ठड्याइने प्रचलन रहेको छ । त्यही आठवटा डोरीले आठ कुनामा बसेर लिंगो ढालिएको थियो । 

लिंगोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने इतिहाासविद् एवं संस्कृतिकर्मी डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । भक्तपुरको प्रसिद्ध बिस्केटको लिंगो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।     

लिंगो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिंगो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।





  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार २२:४३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया