logo-img

रोहितको शतकका बाबजुद हार्‍यो मुम्बई, चेन्नईको जितमा धोनीको आक्रामक ब्याटिङ

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले २० रनको जित निकालेको छ । जारी सिजनमा चेन्नईको यो चौथो जित हो ।  

मुम्बई भने घरेलु मैदानको फाइदा उठाउन सकेन । आफ्नो छैटौँ खेलमा चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।



उसका लागि पूर्वकप्तान रोहित शर्माले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ६३ बलमा ११ चौका र पाँच छक्काको सहयोगमा अविजित १ सय ५ रनको पारी खेलेका हुन् । आइपिएलमा रोहितको यो दोस्रो शतक हो । 

यस्तै, तिलक वर्माले ३१, इशान किशनले २३ र टिम डेविडले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चेन्नईका लागि माथीशा पाथिरानाले सानदार बलिङ गरे । प्लेयर अफ द म्याच घोषित माथीसाले ४ ओभरमा २८ रन दिएर महत्वपूर्ण चार विकेट लिए । 



यस्तै, तुषार देशपाण्डे र मुस्तफिजुर रहमानले एक/एक विकेट हात पारे । त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि कप्तान रुतुराज गायकवाड र शिवम दुबेले अर्धशतकीय इनिङ खेले । 

४० बलको सामना गरेका गायकवाडले पाँच छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए । यस्तै, अविजित रहेका दुबेले ३८ बलमा १० चौका र दुई छक्काको मद्दतमा ६६ रनको योगदान दिए । पूर्वकप्तान महेन्द्र सिंह धोनीले आक्रामक पारी खेले । ४ बल मात्र खेलेका उनले तीन छक्काको मद्दतमा अविजित २० रन जोडे । 



यस्तै, रचिन रवीन्द्र २१, डारेल मिचेल १७ र अजिंक्य रहाणे ५ रनमा आउट भए । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले दुई तथा श्रेयस गोपाल र जेराल्ड कोएत्जीले एक/एक विकेट लिए ।

यो जितपछि चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ६ खेलबाट ८ अंक जोडेको छ । पराजित मुम्बई आठौँ स्थानमा छ । उसले ६ खेलबाट ४ अंक जोडेको छ ।  

  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार ७:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया