गेटा अस्पतालको कन्तबिजोक : सञ्चालनमा आएको ६ महिना बितिसक्दा पनि थपिएनन् सेवा

सुदूरपश्चिममा मेडिकल कलेज स्थापना हुनुपर्ने विगत दुई दशकअघिदेखिको अभियान अहिले आएर सार्थक हुने मोडमा आइपुगेको छ । सरकारले कैलालीको धनगढीमा रहेको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अगाडि बढाउने भएसँगै अभयिान सार्थकताको दिशामा अघि बढेको हो । 

गेटा–५ मा रहेको छ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सबै भौतिक संरचना निर्माण भएका छन् । पाँच अर्बको लगानीमा २६ वटा विभिन्न आधुनिक भवन निर्माण भएका छन् । विभिन्न चरण पार गर्दै अहिले सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो । 

गत २९ माघको राष्ट्रिय सभाले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरेको छ । सभाको सोमबार बसेको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना तथा सञ्चालन गर्न कानुनी आधार दिने विधेयक सर्वसम्मत पारित गरिसकेको छ । अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्नेछ । उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ ।

नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन कैलालीमा हुने भएपछि स्थानीय हर्षित भएका छन् । तर, गत १ कात्तिकदेखि सुरु भएको एकसय शय्याको अस्पतालको अवस्था भने नाजुक रहेको स्थानीयले गुनासो गरिरहेका छन् । 

अस्पतालका दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारीको आपूर्ति गरिएको छैन भने सञ्चालन हुँदाका बेलाका सुरु गरिएका सेवाबाहेक अरू कुनै पनि सेवा थप नगरिएको गेटा मेडिकल कलेजका प्रशासन शाखाका अधिकृत खगेन्द्रराज जोशीले जानकारी दिए ।

नेपाल सरकार स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० सालको भदौ १२ गते र असोज १६ गते गरी दुई चरणमा गेटा अस्पतालका लागि २१ जना चिकित्सकसहित एक सय ४१ जना स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।



तर, १४१ जनाको दरबन्दीमा १०५ जनाको दरबन्दी खाली छ । मंगलबार अस्पताल प्रशासनले दिएको विवरणअनुसार ६ जना विशेषज्ञ चिकित्सकहरू नै दरबन्दीमा आएका छैनन् । वरिष्ठ कन्सल्टेन्ट सर्जन, वरिष्ठ कन्सल्टेन्ट पेड्रियाटिसियन, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन, वरिष्ठ कन्सल्टेन्ट गाइनोकोलोजिस्ट, वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट र वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक्सको दरबन्दीको सुरु भएदेखि नै खाली छ ।

मेडिकल अधिकृतको दरबन्दीमा आएका, तर एमडी गरिसकेका केही चिकित्सहरूले दिएको सेवालाई अस्पतालले विशेषज्ञ सेवा भनेर प्रचार गरिरहेको छ । १२ जनाको मेडिकल अधिकृतको दरबन्दीमा ५ जनाको दरबन्दी खाली छ । अस्पताल व्यवस्थापकको पद पनि खाली भएकाले व्यवस्थापनको पाटो अन्योलमा परेको छ । ४० जना स्टाफनर्सको दरबन्दीमा ३ जना मात्रै कार्यरत छन् भने ३७ जनाको दरबन्दी अस्पताल सञ्चालन भएदेखि नै खाली छ ।



अस्पतालमा हुनुपर्ने रेडियोग्राफी टेक्नोलोजिस्ट, फिजियोथेरापी अधिकृत, सर्भिलेन्स अधिकृतका दरबन्दी पनि खाली छन् । नौजना हेल्थ असिस्टेन्टको दरबन्दीमा एक जना मात्रै कार्यरत छन् । १४ जनाको कार्यालय सहयोगीको दरबन्दीमा ३ जना र १० जना स्वीपरको दरबन्दीका २ जना मात्रै कार्यरत छन् ।
 
अस्पताल सुरु हुने बेला अस्पतालका निर्देशक डा. प्रमोद जोशीले सार्वजनिक गरेका कार्ययोजना एउटा पनि पूरा भएको अवस्था छैन । मंसिरभित्र सुरु गर्ने भनिएको खोप सेवा पूूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । यस्तै, मंसिरभित्र सुरु गर्ने भनिएको बिमाबाट प्राप्त सेवा सुचारु हुन सकेको छैन ।

निर्देशक डा. जोशीले सार्वजनिक गरेको कार्ययोजनाअनुसार मंसिरभित्र सुरु हुनुपर्ने अन्तरंग सेवा सुचारु भएको छैन । पुसमा गर्ने भनिएको इमर्जेन्सी र प्रसूति सेवा सुचारु भएको छैन । अस्पतालले चैतभित्र शल्यक्रिया सेवा र वैशाखभित्र आइसियू तथा एनआइसियू सञ्चालन गर्ने भनेको थियो । 

तर, अहिलेसम्म मंसिरमै सम्पन्न गर्नुपर्ने सेवा सुचारु नभएकाले शल्यक्रिया सेवा र आइसियू तथा एनआइसियू सञ्चालन हुनेमा विश्वस्त हुन सकिने अवस्था छैन ।
‘कात्तिकमा सञ्चालनमा आउँदा जुन सेवा दिइरहेका थियौँ । अहिले पनि अस्पतालमा ती सेवाबाहेक अन्य सेवालााई अगाडि बढाउन सकिएको छैन । सेवा विस्तारको क्रममा सामान खरिदका लागि टेण्डर प्रक्रियामा गएका छौँ,’ अधिकृत जोशीले भने । 

सबैलाई जानकारी भएकै कुरा हो, शल्यक्रिया, आइसियू तथा एनआइसियू सञ्चालनका लागि उपकरण आवश्यक पर्छन् । ती आवश्यक उपकरण अस्पतालमा उपलब्ध छैनन् । फलस्वरूप विनाउपकरण अहिले कुनै पनि सेवा सञ्चालन हुने अवस्थामा नरहेको अधिकृत जोशीको भनाइ छ । 

‘जति छिटो सामान आयो, त्यति चाँडो सेवा विस्तार हुने हो । भर्खर सामानका लागि टेण्डर गरेका छौँ । ओपिडीबाहेकका सेवा विस्तारका लागि अझै केही समय लाग्ने देखिन्छ,’ अधिकृत जोशीले भने । उनका अनुसार सेवा विस्तार नहुँदा बिरामीको चाप पनि छैन । दैनिक २०–३० जना संख्यामा बिरामी आउने गरेको गरेका छन् ।

र याे पनि ...

गेटा मेडिकल कलेज : काममा भन्दा नाममा उल्झन

भिडियोमा हेर्नुहोस् : 

  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १९:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया