logo-img

सर्वोच्चको फैसला नआएसम्म गण्डकी प्रदेश सभा बैठकमा सहभागी नहुने कांग्रेसको निर्णय
फाइल तस्बिर

नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । 

कांग्रेस संसदीय दलको आजको बैठकले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले निवेदन पत्र टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु र पूर्ण सुनुवाइका लागि वैशाख १० गतेका लागि पेशी तोक्नु भनी गत चैत २८ गते अन्तरिम आदेश दिएको थियो । 



उक्त आदेशलाई बेवास्ता गर्दै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरिएको भन्दै कांग्रेसले सभामुखलाई ध्यानाकर्षणपत्र बुझाएको कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘यही वैशाख ७ गते दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेशसभाको कुनै पनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सहभागी नहुने निर्णय गरेको जानकारी गराउँदछौं”, विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च अदालतबाट दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी भएको परिस्थितिमा प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु उचित नभएको कांग्रेसको भनाइ छ ।



 अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेशसभाको बैठक सञ्चालन गर्नु संवैधानिक दृष्टिले त्रुटि पूर्ण र संसदीय मर्यादा एवं परम्परा विपरीतसमेत हुने भएकाले प्रदेशसभा बैठक सञ्चालन नगर्न/नगराउन कांग्रेसले अनुरोध गरेको छ । 



  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १४:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया