logo-img

साँगादेखि धुलिखेलसम्मको सडक निर्माणको कामलाई निरन्तरता दिने सहमति
फाइल तस्बिर

अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको सडक विस्तारको काम अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।

बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबीचको हिजोको बैठकमा सहमति भएको हो ।



यस्तै, बैठकले निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सीमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी अघि बढ्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । 

बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपाको ६ र ७ नम्बर वडा कार्यालयलाई विपक्षी बनाई गएको २० फागुनमा रिट दर्ता गरेका थिए । 

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ साल फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किलोमिटर सडक खण्ड ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँको लागतमा निर्माण थालिएको थियो । रासस 





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार १३:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया