logo-img

सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भयो : राजेन्द्र लिङ्देन

कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका विषयलाई लिएर राजतन्त्र समर्थित दलका नेताहरुले खुसी व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थानीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

त्यस्तै, उनले कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि मंगलबार दिएको सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताए । 
‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ । 

कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ।’ लिङ्देनले प्रशंसा गर्दै भने, ‘नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो।’



त्यस्तै अर्का नेता रविन्द्र मिश्रले कतारी राजाको नेपाल भ्रमणबारे खुसी व्यक्त गर्दै राजाले गरेका कामहरुको खुलेर प्रशंसा गरेका छन् । ‘कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !’ शिर्षकमा लामो स्टाटस नै लेखेका छन् । उनले नेपालमा राजाहरुले बनाएको संरचनाहरुको व्यख्या पनि गरेका छन् । 

मिश्र लेख्छन्, ‘नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध) धर्मको केन्द्र हो। यो देवभूमि नै हो। त्यसैले म भएको भएः अन्य माग र सम्झौताका अलावा कतारका राजालाई नेपालमा ‘दक्षिण एसियाकै’ सबैभन्दा उत्कृष्ट÷विशाल÷कलात्मक मस्जिद इस्लामावादको फैजल मस्जिदभन्दा पनि भव्य बनाइदिन आग्रह गर्ने थिएँ । त्यस्तो मस्जिद जुन नेपाल आउने पर्यटकले एकपटक नहेरे उसको यात्रा नै अपुरो होस् ।’

‘आस्था र अथाह धन भएको देश र राजाले त्यो नमान्ने कुरै छैन भन्नेमा विश्वस्त छु । इस्लामावादको मस्जिद साउदी अरेबियाका राजाको सहयोगमा बनेको थियो। ज्ंगबहादुर राणाले १५० वर्षअघि निर्माण गरेको कालमोचन मन्दिर पश्चात नेपालमा विशिष्ट ऐतिहासिक र विश्व महत्वको कुनै हिन्दू धार्मिक केन्द्र बनेको छ जस्तो लाग्दैन।  दिल्लीस्थित स्वामिनारायण अक्षरधाम जस्तो असोचनीय वास्तुकला, संस्कृति र विशालताले पूर्ण मन्दिर बनाउन पहल गर्ने थिएँ, उनले लेखेका छन् ।



मिश्रले अगाडि लेखेका छन्,‘कुनै सम्पन्न र धार्मिक युरोपेली राष्ट्रलाई नेपालमा दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट र विशाल र कलात्मक गिर्जाघर बनाउन आग्रह गर्ने थिएँ । त्यस्तो गिर्जाघर जुन नेपाल आउने पर्यटकले एक पटक नहेरे उसको यात्रा नै अपुरो होस्। लुम्बिनी, बौद्ध, स्वयम्भूजस्ता संसारकै असाधारण बौद्ध केन्द्रहरूलाई विश्वविख्यात सम्पदा संरक्षकहरूको सहयोग लिएर तिनलाई, तिनको परिसरलाई र तिनको व्यवस्थापनलाई विश्वस्तरको बनाउने थिएँ।

त्यति गर्नसके नेपाल सनातन धर्मावलम्बीहरूको मात्र होइन, विश्वकै देवभूमी हुनेथियो। धार्मिक सद्भाव र सहिष्णुताको उदाहरण हुनेथियो। त्यसले पर्यटन र समग्र अर्थतन्त्रमा पुर्याउने योगदान उच्च नहुने कुरै भएन।’
 



  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १५:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया