logo-img

'अनइन्टेन्सनल्ली' थिएटर छिरेकी अर्चना पन्थीको अभिनय यात्रा

काठमाडौं — सन् २०११ को मिस टिन तथा २०१४ को मिस ग्लोबल इन्टरनेसनलकी फस्ट रनर अप भएकी अर्चना पन्थीलाई मोडलिङ तथा सिनेक्षेत्रबाट थुप्रै अफर आए । तर, अर्चनाले आफ्नो अभिनय यात्राको सारथि भने रंगमञ्चलाई बनाइन् । केही वर्षमै नेपाली रंगमञ्चमा छुट्टै पहिचान बनाएकी छिन् अर्चनाले । उसो त अर्चना फिल्म (वेब सिरिज) मा पनि काम गरिरहेकी छिन्, तर उनलाई फिल्मभन्दा रंगमञ्च नै प्यारो लाग्छ ।

अर्चनाले नाट्य क्षेत्रमा पाइला टेकेको तीन वर्ष भयो । सन् २०१६ मा रंगकर्मी टंक चौलागाईंको निर्देशनमा मञ्चन भएको नाटक माधवीबाट रंगमञ्चीय यात्रा थालेकी अर्चना पहिलो नाटकबाटै चर्चाको शिखरमा पुगिन् । यही चर्चा, दर्शकको माया र आफ्नो मिहिनेतले उनलाई रंगमञ्चमा बलियोसँग स्थापित गरिदियो । अब यही क्षेत्रमा केही गर्ने अठोटका साथ अघि बढेकी छिन् उनी ।

रंगमञ्चमा अर्चनाको प्रवेश कुनै योजनाको फल थिएन । माधवीमा हेलिनुअघि उनलाई थिएटरप्रति न कुनै लगाव थियो, न त चासो नै । कहिलेकाँही मण्डलामा आफ्नो दाइ (रंगकर्मी चे शंकर) को नाटक मात्र हेर्न जान्थिन् उनी । थिएटरमा गएर नाटक हेर्दा भोलि यो क्षेत्रमा आउँला भनेर कहिल्यै सोचिनन् उनले । ‘रंगमञ्चसँग जोडिन आउँछु भनेर सोचेको पनि थिइनँ,’ उनी भन्छिन्, ‘यो मेरो लागि अनइन्टेन्सनल थियो ।’



यो क्षेत्रमा आउँछु भन्ने नसोचे पनि कताकता कुनै नाटकले मनमा केही हलचल मच्चाएर थिएटरतिर लोभ्याएको थियो, सायद । ‘मैले अकांक्षा कार्कीले अभिनय गरेको एउटा नाटक हेरेकी थिएँ,’ नाटक हेर्दाका दिन सम्झिँदै उनी भन्छिन्, ‘उहाँको अभिनयले मलाई एकदमै छोएको थियो । त्यसले नै थिएटरतिर अलिकति तानेको हो कि जस्तो लाग्छ ।’ 

‘सोसल वर्क’की विद्यार्थी हुन् अर्चना । अहिले सेन्ट जेभिएरबाट बिएसडब्लु सकेर बसेकी छिन् उनी । यही ग्यापमा नाटकसम्बन्धी विभिन्न काम गर्दै छिन् । अर्चना स्कुलहरुमा नाटक पढाउँछिन्, सिकाउँछिन् । आफू सोसल वर्कको स्टुडेन्ट भए पनि अब सबै काम थिएटरसँगै जोडिन थालेको अनुभव गर्छिन् उनी । अरु क्षेत्रका कामभन्दा थिएटरकै काममा रमाउँछिन् अचेल । भन्छिन्, ‘थिएटर छोडेर अरु ठाउँमा काम गर्ने धेरै प्रयास गरेँ, तर थिएटरमा जति खुसी अरुमा पाइनँ ।’ 

‘अब जे गर्छु, थिएटरसँग रिलेटेड काम मात्र गर्छु,’ अर्चना भन्छिन्, ‘अरु सबै काम छोडेर थिएटरतिरै लागेकी छु । विभिन्न स्कुलहरुमा नाटक सिकाउँछु, पढाउँछु । मलाई यसमै खुसी हुन्छ ।’ योभन्दा पहिले उनले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग काम गरिन् । वृद्धाश्रममा पनि सेवा गरिन् उनले ।



अर्चनालाई थिएटरमा रुचि जगाउने टंक चौलागाईं हुन् । चौलागाईंलाई उनी गुरु मान्छिन् । उनकै कारण आफू यो स्थानमा रहेको ठान्छिन् अर्चना । ‘टंक चौलागाईं हाम्रो स्कुलको ड्रामा टिचर हुनुहुन्थ्यो,’ स्कुले जीवनको एक प्रसंग सुनाउँदै अर्चना भन्छिन्, ‘स्कुलमा ड्रामा टिचर भए पनि म नाटक कहिल्यै गर्दिनथेँ । बरु, कार्यक्रमहरु होस्ट गर्थें । टंक सरले माधवी नाटकमा माधवी क्यारेक्टरका लागि मलाई याद गर्नुहुँदो रहेछ । मलाई एकदिन त्यो क्यारेक्टरका लागि उहाँले प्रस्ताव राख्नुभयो ।’

तर, त्यो प्रस्ताव अर्चनाले ठाडै अस्वीकार गरिन् । किनकि, उनले कहिल्यै नाटक गरेकी थिइनन् र यो उनको रुचिको विषय पनि थिएन । टंकले धेरैपटक सम्झाएपछि बल्ल उनी राजी भइन्, माधवी बन्न । टंक सरले माधवी पात्रका लागि सुहाउने देखेरै आफूलाई छानेको उनले पछि थाहा पाइन् । ‘एक्टरभन्दा पनि क्यारेक्टर सुहाउने देखेर छानेका रहेछन् मलाई,’ अर्चना सुनाउँछिन् । 



जुन काममा हात हाल्यो, त्यसमा इमानदारीका साथ गम्भीर भएर लाग्ने, मिहिनेत गर्ने उनको बानी छ । मसिनो बोल्ने, डान्स र अभिनय गर्न पनि नजान्ने अर्चनालाई नाटकमा माधवीको भूमिका निभाउनु चानचुने कुरा थिएन । यो उनको लागि ठूलो चुनौती थियो, तर यसलाई स्वीकार गर्नु उनको अन्तर्मनको साहस अर्थात् ‘कन्फिडेन्स’ थियो सायद । भन्छिन्, ‘मलाई डान्स, एक्टिङ केही पनि आउँदैनथ्यो । माधवी क्यारेक्टरका लागि मैले धेरै मिहिनेत गर्नुपरेको थियो ।’ 

उनमा कन्फिडेन्स भने बलियो थियो । यो कन्फिडेन्स मिस टिन र मिस ग्लोबल इन्टरनेसनलबाट विकास भएको अर्चना बताउँछिन् । भन्छिन्, ‘यी दुईवटा पेजेन्टमा सहभागी भएर ममा अलि कन्फिडेन्स डेभलप भएको थियो । पहिले म एकदमै डल थिएँ ।’ दुवै क्षेत्र सामाजिक कार्यसँग सम्बन्धित भएकाले थिएटरमा यसले सहयोग पुगेको उनी बताउँछिन् ।

माधवीमा उनले निभाएको भूमिका दर्शकले औधी मन पराए । उनलाई भने अझै राम्ररी क्यारेक्टरमा आएजस्तो लाग्दैनथ्यो । 

झन्डै एक महिनाको रिहर्सलमा उनले सकेजति अभ्यास गर्न भने छोडिनन् । आवाज सानो भएकाले अलि दुःख गर्नुपर्याे उनले । ‘रिहर्सल गर्दा आफूले सकेजति सबै कुरा गर्न प्रयास गरेँ । मेरो आवाज सानो भएकाले आवाजमा काम गर्न भने निकै गाह्रो भयो,’ उनी सुनाउँछिन् । 

पहिलोपटक नाटक गरिरहेकाले सुरु दिनमा रिहर्सलमा गर्न निकै गाह्रो भयो । ‘यो क्षेत्रका लागि म बिल्कुलै नयाँ थिएँ,’ अर्चना भन्छिन्, ‘यसमा कति डेडिकेसन चाहिन्छ भन्ने मलाई थाहै थिएन । त्यसैले सुरुसुरुमा निकै गाह्रो भयो ।’ नाटकमा आफूले दैनिक बोल्नेभन्दा फरक भाषा थियो । त्यसैले, उनी त्यसमै बढी केन्द्रित हुनुपर्यो । 

यतिबेला उनी साथीहरुबाट पनि निकै टाढा पुगिसकेकी थिइन् । रिहर्सल थालेदेखि भेट्न छाडेकाले साथीहरु रिसाएका थिए । नाटकपछि भने उनले साथीहरुबाट झन् माया पाइन् । 

नाटकपछिको प्रतिक्रिया उनका लागि सोचेभन्दा माथिको थियो । अहिले सम्झँदै खुसी हुन्छिन् उनी । ‘दर्शकले मलाई यति धेरै माया गर्लान् जस्तो लागेको थिएन,’ मुस्कुराउँदै भन्छिन्, ‘यो मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो । सायद मैले अरु जतिसुकै ठूलो काम गरे पनि यस्तो माया पाउने थिइनँ । र, अब पाउँछु जस्तो पनि लाग्दैन ।’

माधवी नाटकबाट अपार माया पाएपछि अर्चनाले अब यही क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने सोच बनाइन् । थिएटर धाउन थालिन्, अग्रजहरुसँग काम गर्न थालिन् । सोसल वर्क स्टुडेन्ट अर्चना अब थिएटर वर्कमा चुर्लुम्मै डुबिन् । 

माधवीपछि उनी रंगकर्मी सुलक्षण भारतीसँग ‘लाटीको छोरो’ नाटकमा संलग्न भइन् । यसमा उनले कलाकारको रुपमा नभई नेपथ्यमा सहायक निर्देशकको रुपमा काम गर्ने मौका पाइन्, र थिएटरसम्बन्धी धेरै कुरा सिकिन् । ब्याकस्टेजमा काम गर्दा यसबारे धेरै सिक्ने मौका पाएको उनी बताउँछिन् । भन्छिन्, ‘माधवी नाटक गर्दा मलाई थिएटरको एक्टिभिटी केही थाहा थिएन । अहिले माधवी क्यारेक्टर गर्न पाएको भए सायद अझै राम्रो गर्न सक्थेँ जस्तो लाग्छ ।’ 

त्यसपछि उनले थुप्रै नाटक गरिन् । उनका अगाडि ‘अफर’को आइरो लाग्न थाल्यो । थिएटरको प्रोजेक्ट सक्न लामो समय लाग्ने हुँदा उनले थुप्रै नाटक रिजेक्ट पनि गरिन् । उनको छनोटमा ‘ययाति’, ‘नउफ्रिने भ्यागुतो’, ‘दयालु रुख’, ‘मेमोरी यार्ड’जस्ता नाटक परे । यी सबै चर्चित र सफल भए । 

अहिलेसम्म गरेकामध्ये उनलाई ‘ययाति’ नाटकमा चित्रलेखाको चरित्र राम्रोसँग निभाएजस्तो लाग्छ । कामको हिसाबले उनी ‘दयालु रुख’बाट सन्तुष्ट छिन् । भन्छिन्, ‘मलाई क्यारेक्टरको रुपमा ययातिको चित्रलेखा सशक्त रुपमा निभाएजस्तो फिल हुन्छ । तर, आफूले अहिलेसम्म गरेको काममा सबभन्दा राम्रो काम गरेको चाहिँ दयालु रुखमा हो जस्तो लाग्छ । अरु ड्रामा डायलग बेस्ड हुन्थ्यो भने दयालु रुख फिजिकल बेस्ड थियो । यसको मेकिङ नै इन्टरेस्टिङ थियो ।’ नाटकमा क्यारेक्टर डेभलप गर्न रिसर्च पनि गरेकी थिइन् उनले ।

अहिले अर्चना नाटकसँगै ‘माया भन्ने चिज यस्तै हो’ वेबसिरिज पनि गर्दै छिन् । तर, उनलाई सिनेमा वा वेबसिरिजभन्दा रंगमञ्च नै मन पर्छ । ‘यो जति ठूलो संसार हो, त्यति धेरै यसको महत्व र इसेन्स लुकेको हुन्छ,’ रंगमञ्चलाई ठूलो संसार मान्ने अर्चना भन्छिन्, ‘मेरो लागि रंगमञ्च दुःख, पीडा, इन्सेक्युरिटी, हर्टफेल्ट सबै–सबै पोख्ने ठाउँ हो जस्तो लाग्छ । त्यसैले यो संसार मलाई प्यारो लाग्छ ।’ 

नेपाली कलाकारिता क्षेत्रमा लागेकामध्ये थोरैले मात्र परिवारको सहयोग पाएका हुन्छन् । यसमा अर्चना भाग्यमानी छिन् । रंगमञ्चीय यात्रामा उनले परिवारबाट राम्रो सपोर्ट पाइरहेकी छिन् । अहिले उनका आमाबुबा दुवै विदेशमा छन् । माधवी चल्दा आमा नेपालमै थिइन् । 

आमाले उनलाई रिहर्सलदेखि नाटक अवधिभर साथ दिइन् ।  ‘बुबा–आमा मलाई अझै मिहिनेत गर्न हौसाइरनुहुन्छ,’ उनी भन्छिन्, ‘यही हौसलाले अब थिएटर पढ्न विदेश जाँदै छु ।’

एजुकेसन र थिएटर सँगसँगै लैजान मन छ अर्चनालाई । त्यसैले, ड्रामा र एजुकेसन दुवै कम्बाइन भएको विषय पढ्ने विचारमा छिन् उनी ।  

त्यहाँबाट सिकेर आएको कुरा नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सिकाउने उनको सोच छ । भन्छिन्, ‘बाहिरबाट पढेर, त्यहाँबाट सिकेर आएको कुरा नेपालमा सिकाउने सोच बनाएको छु । मलाई सरकारी विद्यालयका विद्यार्थीहरुसँग काम गर्न मन छ ।’

कला क्षमता भएका, जो रंगमञ्चमा आउन चाहन्छन्, तर आउन सकिरहेका छैनन् । अर्थात्, जो स्पेसको खोजीमा छन्, तिनीहरुलाई स्पेस दिने र प्रतिभा हुनेलाई अगाडि ल्याउने उनको सोच छ । उनी भन्छिन्, ‘जसरी जुनियरलाई सिनियर दाइहरुले अगाडि ल्याउनुभयो, त्यसैगरी म बाहिरबाट आएपछि स्पेस खोजिरहेकाहरुलाई स्पेस दिन सकेँ भने आफू रंगमञ्चमा जोडिन आउनुको सार्थकता महसुस गर्नेछु ।’

  • प्रकाशित मिति : वैशाख १२, २०७६ बिहीबार १५:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया