धमाधम बन्दैछ दशरथ रंगशाला

मंसिर लागेपछि नेपालमा महत्वपूर्ण खेलको सिजन सुरु हुँदैछ । तर, खेल कहाँ खेलाउने ? 

यो प्रश्नको जवाफ सहज लाग्दैन, जब अहिले निर्माणाधीन दशरथ रंगशाला पुगिन्छ । किनकि रंगशाला जस्तो बनिसक्नु पर्ने थियो, त्यस्तो बन्न सकेको छैन । 

सबैभन्दा पहिले ३ मंसिरमा विश्वकप र एशिया कप छनोटको दोस्रो चरणका लागि नेपाल र कुवेत नेपालमा नै खेल्दैछन् । र, त्यो पनि यही मैदानमा, यही रंगशालामा । 

तर, खेलाडीहरुका लागि मैदान तयार भइसक्दा दर्शकदीर्घा बस्ने ठाउँमा केही हुन सकेको छैन । 

सोमबार दशरथ रंगशालामा पुग्दा मैदानमा भेटिए दिलिप रजक । रजक मैदान विशेषज्ञ हुन् । ‘एकपटक तिहारअगाडि नै रोलर चलाउने प्रयासमा लागिरहेका छौँ,’ रजकले भने, ‘तिहारलगत्तै मैदानको काम सबै सकाएर हामी ३ मंसिरको खेललाई मैदान तयार पारिसक्ने छौँ ।’



३ मंसिरको खेलपछि यही रंगशालमा नेपालमा आयोजना हुन लागेको सागको उद्घाटन पनि हुनेछ । १५ देखि २४ मंसिरमा हुने सागका लागि पनि रंगशाला अहिलेसम्म तयार भइसक्नु पर्ने हो । तर, अझै पनि प्याराफिट र स्कोरबोर्डहरु तयार भइसकेका छैनन् । 

सकारात्मक पक्ष के भने अहिले दशरथ रंगशालामा काम धमाधम भइरहेको छ । यही कामलाई नजिकबाट हेरिरहेका छन्, इन्जिनियर अरुण उपाध्याय ।



मैदानबाहेक बाहिरको काम राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वयंले हेरिरहेको छ । त्यसैले पनि राखेप अहिले प्रेसरमा छ । ‘अब त प्याराफिटमा छानो हाल्ने र सिट हाल्ने काम मात्र बाँकी हो,’ उपाध्यायले भने, ‘त्यो त अब हुने खेलहरुभन्दा पहिले नै सकिन्छ ।’

तर, यहाँ जोड्नु पर्ने सिटहरु नेपालसम्म नै आइपुगेको छैन । चीनबाट ल्याइएका सिटहरु अहिले कहाँ छन् भन्ने पनि ठ्याक्कै राखेप अधिकारीहरुलाई थाहा छैन । ‘भन्सारसम्म आइपुग्यो होला,’ उपाध्यायले नै भने, ‘एक दुई साता लाग्न सक्छ यहाँ आइपुग्न ।’

दुई साताभन्दा बढी लाग्ने हो भने ३ मंसिरको कुवेतसँगको नेपालको खेल पक्कै पनि सिट नभएको प्याराफिटमा बसेर दर्शकले हेर्नु पर्ने बाध्यता हुनेछ । 

जे होस्, ३ मंसिरको खेल जसरी पनि दशरथ रंगशालामा नै गरिछाड्ने राखेपको अठोट छ । ‘वैकल्पिक उपाय अपनाएर पनि खेल त यहाँ नै गरिन्छ,’ उपाध्यायले भने, ‘सकेसम्म सबै काम अगाडि नै सकाउने हिसाबमा काम गरिरहेका छौँ ।’

सबै तस्वीर: याेगेश भट्टराई/फरक धार

  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १३:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया