उपप्रधानमन्त्री यादव र मन्त्री राईले बुझाए राजीनामा

काठमाडौं– समाजवादी पार्टीले सरकारमा रहिरहनुको कुनै औचित्य नभएको भन्दै सरकारबाट अलग्गिने निर्णय गरेलगत्तै पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा बुझाएका छन् ।

मंगलबार दिउँसो पार्टी कार्यालयमा बसेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । यही निर्णयअनुसार यादव र राईले राजीनामा बुझाएका हुन् । 

यसअघि सोमबार यादवले मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन अध्ययन समितिबारे प्रस्ताव लगेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यादवको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक मन्त्रीका अनुसार बैठकमा यादवले यस विषयमा कुरै राख्न पाएनन् ।

यही कारणले समाजवादी पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरेको हो । 

यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा लेखेका छन् । उनले संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदो सहमतिबाट पछाडि हटेको उल्लेख गरेका छन् । सँगसँगै उनले नैतिकताको आधारमा राजीनामा दिएको पनि पत्रमा उल्लेख गरेका छन् । 



‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,’ यादवले दिएको राजीनामामा उल्लेख छ ।



अब राजपासँग एकता हुने सम्भावना

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकता हुने भन्ने विषयमा लामो समयदेखि चर्चा चल्दै आएको छ । यो एकताका लागि समाजवादी पार्टीले सरकार छाड्नु पर्ने मुख्य अजेन्डा राजपाले राख्दै आएको थियो । 

अब समाजवादी पार्टीले सरकार छाडेकाले राजपासँगको एकता तीव्र गतिमा हुने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । तर, अर्कोतिर ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा राजपाले सत्तारुढ नेकपासँग प्रदेश २ मा दुई दुई सिट बाँडफाँड गर्ने सहमति गरेकाले अहिले नै यो विषयमा राजपाले मुख नखोल्ने पक्षमा रहेको राजपाका एक नेताले बताए । 

उनका अनुसार अब समाजवादी पार्टीसँग एकता तीव्र गतिमा अगाडि त बढ्छ तर यसलाई ९ माघअघि नै केही हुन्छ भन्ने सोच्नु चाहिँ हुँदैन ।

  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १५:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया