काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा मच्छिन्द्रले थ्रीस्टारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
मच्छिन्द्रले खेलको दुवै गोल थ्री स्टारका डिफेन्डर तथा गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गरेको थियो ।
खेलको ३८औँ मिनेटमा युवा स्ट्राइकर रेजिन सुब्बाले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए ।
रञ्जित धिमालको फ्रिकिक बललाई थ्री स्टारका गोलरक्षक प्रिसो नजांगाले पन्च गरेर बललाई क्लियर गर्न खोजेता पनि त्यो बलले डिबक्सभित्र अनमार्क रहेका रेजिनलाई बिट गर्न नसक्दा थ्री स्टारले पहिलो गोल बेहोर्न पुगेको थियो ।
त्यस्तै, ९०औँ मिनेटमा विशाल राईले गोल गर्दै मच्छिन्द्रको अग्रतालाई दोब्बर बनाए । उनले विजय धिमालको क्रस बललाई थ्रीस्टारका डिफेन्डरले रोम्रोसँग क्लियर गर्न नसकेको बललाई विशालले गोलमा परिणत गरेका थिए ।
यो जितसँगै मच्छिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग २ अंकको अग्रता बनाएको छ, तर आर्मीले १ खेल कम खेलेको छ ।
मच्छिन्द्रका पिटर सेगुन खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
मछिन्द्रले ९ खेलबाट १९ अंक जोडेको छ भने आज पराजय बेहोरेको थ्री स्टारले समान खेलबाट १४ अंक जोड्दै लिगको ५औँ स्थानमा झरेको छ ।
यो जितसँगै मच्छिन्द्रले उपाधि होडमा आफूलाई कायम राखेको छ भने पराजय बेहोरेको थ्री स्टारलाई भने धक्का लागेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।