अफगानिस्तानमा तालिबानले अचानक शान्ति वार्ता भंग गर्‍याे

काबुल — अफगानिस्तानलाई शान्तिको बाटोतर्फ लाने अनुमान गरिएको ऐतिहासिक वार्ताबाट विद्रोही तालिबान बाहिरिएको छ । सरकारसँगको पहिलो प्रत्यक्ष छलफल ‘उपलब्धिमूलक’ नभएको पुष्टि भएको भन्दै तालिबान वार्ताबाट बाहिरिएको हो । 

अफगान सरकार वार्ताको वातावरण बनाउन गम्भीर नभएको आरोप लगाउँदै तालिबान बाहिरिएको छ। अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदान गर्ने सहमतिको विषयलाई लिएर वार्ता भंग भएको बीबीसीले उल्लेख गरेको छ।

तालिबान र सरकारबीचको वार्तालाई अफगान युद्ध अन्त्य हुने कदमका रूपमा हेरिएको थियो। अफगान अधिकारीले बन्दी रिहा गर्न ढिला गर्ने प्रयास गरिरहेको तालिबानले आरोप लगाएको छ भने सरकारी अधिकारीहरुले भने लडाकुका माग अनुचित रहेको बताएका छन्।

कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच गत फेब्रुअरीमा भएको शान्ति सम्झौतामा ५ हजार विद्रोही बन्दी रिहा गर्ने र त्यसको बदलामा तालिबानको नियन्त्रणमा रहेका एक हजार अफगान अधिकारी मुक्त गर्नेे सहमति भएको थियो।

अमेरिकासँगको शान्ति सम्झौतापछि नै आफैंले ‘पश्चिमा शक्तिको कठपुतली’ को संज्ञा दिएको अफगान सरकारसँग वार्ताका लागि तालिबान सकारात्मक भए पनि बन्दी आदानप्रदानको विषयमा कुरा नमिलेपछि मार्च १० का लागि तय भएको पहिलो चरणको वार्ता अप्रिल १ मा मात्र भएको थियो।

सरकारी वार्ता टोलीका सदस्य माटिन बेकका अनुसार पहिलो चरणको वार्तामा तालिबानले ठूला आक्रमणमा सहभागी १५ कमान्डर रिहा गर्नुपर्ने माग गरेको थियो। सरकारले भने तल्लो हैसियतका बढीमा ४ सय तालिबान बन्दी रिहा गर्न सकिने बताएको थियो। ‘हाम्रा जनताका हत्यारालाई हामी रिहा गर्न सक्दैनौं,’ वार्ता टोलीका सदस्य बेकले तालिबानी मागप्रति प्रतिक्रया जनाए।



अफगानिस्तान सरकार तालिबानले पूर्ण रूपमा हिंसाको बाटो नत्यागेसम्म बन्दी रिहा नगर्ने पक्षमा छ। अमेरिका र तालिबानबीचको शान्ति सम्झौतामा अफगानिस्तान सहभागी नभएको भन्दै राष्ट्रपति घानीले बढीमा १ हजार ५ सय बन्दी मात्र रिहा गर्न सकिने तर्क प्रस्तुत गर्दै आएका छन्। तालिबानले भने राष्ट्रपति असरफ घानीको प्रशासनले एकपछि अर्को बहाना बनाउँदै बन्दी रिहा गर्न ढिलाई गरिरहेको आरोप लगाएको छ।



  • प्रकाशित मिति : चैत २६, २०७६ बुधबार २:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया