राहुल र प्रियंकासहित दुई सय जनाविरुद्ध मुद्दा दर्ता

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जनाविरुद्ध मुद्दा लगाइएको छ ।

भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनीहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दाबी गरेको छ ।    

यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । 

सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हर्थासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो । 

बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो । 



गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हर्थासतर्फ गइरहेका बेला सवारी साधनलाई प्रहरीले रोकेपछि उनीहरु हिँडेरै त्यसतर्फ लागेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । 

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि राहुलले आक्रोशित हुँदै प्रश्न गरे, ‘के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए । 



नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् ।   

उनले आफ्ना सवारी साधन रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए । 

‘म एक्लै हर्थासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,’ उनले भनेका थिए । 

  • प्रकाशित मिति : असोज १६, २०७७ शुक्रबार १९:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया