भारतीय सेनाध्यक्षको आसन्न नेपाल भ्रमण खारेज गर्न २१ वाम दलको माग

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको आसन्न नेपाल भ्रमण खारेज गर्न २१ वटा साना वाम दलले सरकारसँग माग गरेका छन् । भारतीय सेनाध्यक्षको भ्रमणले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने उनीहरुको ठहर छ । 

२१ दलका तर्फबाट आइतबार एक अपिल जारी गर्दै नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेलले उनको भ्रमण खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

 ‘यदि सरकारले यो भ्रमण रद्द गरेन भने यसको विरोधमा हामीले शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छौँ,’ गजुरेलले भनेका छन्, ‘हामी सम्पूर्ण देशभक्तहरुलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गर्दछौँ ।’

नरवाणे यही कात्तिक १९ गते नेपाल भ्रमण आउने तय भइसकेको छ । नेपाल सरकारले नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने तयारी गरेको छ । सोही भ्रमणको पूर्वसन्ध्यामा भारतको बाह्य खुफिया संस्था (रअ)का प्रमुख सामन्त गोयलले गत कात्तिक पहिलो साता नेपाल भ्रमण गरेका थिए । 

नेपाल र भारत सरकारका बीचमा सीमासम्बन्धी समस्या बल्झिरहेको अवस्थामा सरकारले कूटनीतिक र राजनीतिक वार्ता गर्न चासो नदेखाएको तर भारतकै स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान दिन खोजेकोमा २१ संगठनले विरोध गरेको हो । 

सीमा विवादका सन्दर्भमा भारतीय सेनाध्यक्षले विवादास्पद अभिव्यक्ति दिएको र विवादास्पद अभिव्यक्ति दिने व्यक्तिलाई नै सम्मन गर्दा उनको अभिव्यक्तिकाे समर्थन गरेको अर्थ लाग्न सक्ने २१ दलको ठम्याइ छ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०७७ आइतबार १८:४५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया