जाडो कसरी कटाउने ? आत्तिरहेका छन् पहिरोपीडित
पहिरोबाट विस्थापित परिवार बसिरहेका चुरे गाउँपालिका–५ सडक छेउका त्रिपाल । तस्वीर : कैलाश जोशी।

कैलालीको चुरे गाउँपालिका–५ को सडक छेउमा त्रिपालमा बस्छिन् ९६ वर्षीया लालमती धामी। साँझपख सिरेटो हावासँगै त्रिपालबाहिर भेटिएकी उनी भन्छिन्, ‘अब यतै मरिन्छ होला।’ जीवनको उत्तरार्द्धमा पुगेकी उनलाई यसपालीको चिसोबाट कसरी बच्ने भन्ने चिन्ता छ। यो कठ्ङयाग्रिँदो जाडोमा त्रिपालमा रात बिताउनु पर्दा उनलाई  कम्ता सकस भएको छैन। 

‘बस्ने वास छैन। खाने गाँस छैन। के गर्ने ?’ त्रिपाल देखाउँदै लालमतीले भनिन्, ‘अब त, त्रिपाल च्यातिएर शीत चुहिने भइसके। लत्ता–कपडा किनौँ भने पैसा छैन। आगो धेरै बालौ भने जल्ने डर, कसरी जाडो काट्ने होला?’ 

चिसोले गर्दा बच्चाबच्ची बिरामी पर्न थालेको उनले बताइन्। ‘चिसोले गर्दा होला बच्चाबच्ची विरामी परेका पर्‍यै छन्। हामी बुढाबुढी र बच्चालाई हत्ते पारेको छ। लालमतीले दुखेसो पोखिन्। 

‘त्रिपालबाटभित्र जाने शित राति सुत्न निकै कठिन  भएको  अर्का पीडित जयबहादुर धामीले दुखेसो छ।  ‘त्रिपालमा रातभर आगो बालेर बसौँ जल्ने डर हुन्छ, राति सुत्न सकिएको छैन।’ जयबहादुर गुनासो गर्छन् शरीर ढाक्ने बाक्लो कपडा र ओढ्ने ओछ्याउनेको अभाव हुँदा चिसो कसरी काट्ने चिन्ता भइरहेको पीडित मध्यकै एक नरिभान धामी बताउँछन्। अहिले उनीहरुको पीडा सुन्ने कोही नभएको उनको भनाइ छ। 

स्थानीय, प्रदेश र केन्द्र सरकारले हाम्रा लागि के गरिरहेको छ भन्ने पनि कुनै जानकारी नभएको उनको गुनासो छ। ‘यसअघि जनप्रतिनिधिहरुसमस्या सुन्न त आउँथे,’ उनले भने, ‘अहिले त कसैले पनि फर्केर हेरेका छैनन्, ‘यसअघि वडाध्यक्ष आउँथे अहिले उनी पनि आउँदैनन’ 

कसैले फोन गर्दा पनि नउठाउने पीडितको गुनासो छ।  जाडो काट्नका लागि कुनै निकाय वा संस्थाले सहयोग गर्लाकी भन्ने आशमा उनीहरु छन्। अभाव, गरिबी त छँदैछ त्यसमाथि दिनहुँ बढ्दै गइरहेको जाडोले झन् बढी अत्याइरहेको छ  उनीहरुलाई। 



गाउँपालिकाको पट्रेनी र सल्लेरीको पहिरोबाट विस्थापित भएका २९ परिवारलाई चार महिनाअघि गाउँपालिकाले सडक किनारमा राखेको थियो। 

त्यसमध्ये पहिरोको जोखिम भएको तर घर नभत्केको र जग्गा जमिन बाँकी भएका केही विस्थापित परिवार भने अहिले घर फर्किएका छन्। उनीहरु सधैँका लागि भने घर गएका होइनन्। सडकमा बसेर गुजारा नचल्ने भएपछि हिउँद काट्न घर गएका हुन्। घरसहित जग्गा जमिनसमेत पहिरोले बगाएका १० परिवारको अन्त जाने ठाउँ छैन।  



उनीहरुलाई स्थानान्तरण गर्न जग्गाको प्रबन्ध भइरहेको गाउँपालिकाले जानकारी दिएको छ। उनीहरुलाई कहिले स्थानान्तरण गरिन्छ भन्ने टुंगो लागेको छैन। पीडितहरु अन्योलमा परेका छन्। 

स्थानीय सरकारले स्थायी रुपमा राख्ने व्यवस्था मिलाउन नसक्ने भएकाले प्रदेश र संघीय सरकारमार्फत पहल भइरहेको गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगरले जानकारी दिए। 

‘सम्भावित ठाउँ तोकेर जिल्ला प्रशासनमार्फत गृहमन्त्रालयलाई चिठ्ठी पठाएका छौँ। सकेसम्म चाँडै समस्या समाधानका लागि दवाव दिइरहेका छौँ।’ अध्यक्ष मगरले भने।  गाउँपालिकाका विभिन्न वडाका गरी २११ घर विस्थापित भएका हुन्। तर, पूर्ण रुपमा विस्थापितको तथ्यांक कति छ भनेर एकीन नभएको उनले सुनाए।  

  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार १४:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया