सन् २०२० का उत्कृष्ट १० फुटबल खेलाडी

सन् २०२० अन्य वर्षभन्दा केही भिन्न रह्यो । कोरोना महामारीका कारण विश्वका धेरै क्षेत्रजस्तै खेलकुदको क्षेत्रले पनि सास्ती भोग्नुपर्यो । जे जस्तो भए पनि सन् २०२० अन्त्य भइसकेको छ । वर्षको अन्त्यसँगै स्पेनिस खेल पत्रिका मार्काले सन् २०२० का उत्कृष्ट १० फुटबल खेलाडीको सार्वजनिक गरेको छ । 

खेल विश्लेषक र पत्रकारको मतको आधारमा यो सूची सार्वजनिक गरिएको मार्काले बताएको छ । 

१०. लियोनल मेसी–बार्सिलोना

लियोनल मेसीको चर्चा सन् २०२० भर चल्यो । उनी ला लिगाको सर्वाधिक गोलकर्ता बने । २१ गोलका लागि अवसर सिर्जना गरे । उनले सातौं पटक पिचिची अवार्ड जिते । 
२०२० मा अर्जेन्टिनी फरवार्ड मेसीको चर्चा मैदानभित्र मात्र नभएर बाहिर पनि चल्यो । सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने उनको निर्णयले विश्व फुटबल ततायो । मेसीले क्लब छाड्ने मनसाय बनाए पनि अन्त्यमा बार्सिलोनामै रहने निर्णय गरे । 

९.इर्लिङ हल्यान्ड– बेरुसिया डर्टमण्ड



​हल्यान्डको पनि गत वर्षका राम्रै चर्चा भयो । उनले यो सिजनको ३१ खेलमा ३२ गोल गरे । उनी गोल्डेन ब्वाई अवार्डबाट सम्मानित भए । यसै सिजना रेडवल साल्सबर्गबाट बेरुसिया डर्टमण्ड पुगेका नर्बेली फरवार्ड हल्यान्डले आफूलाई युरोपेली शीर्ष लिगमा सम्भावना बोकेको खेलाडीको रुपमा स्थापित गराएका छन् । 



८.म्यानुयल नोयर– बायर्न म्युनिख

नोयरले वर्तमान समयमा आफूलाई उत्कृष्ट गोलरक्षकका रुपमा स्थापित गराएका छन् । जर्मन क्लब बायर्न म्युनिखलाई गत सिजन बुण्डेस लिगा, जर्मन सुरपकप तथा च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नोयरले २०० क्लिन सिट्स राख्ने कीर्तिमान बनाएका छन् । 

७.करिम बेन्जिमा–रियल मड्रिड

रियल मड्रिडका फ्रान्सेली फरवार्ड बेन्जिमा अहिले उत्कृष्ट लयमा छन् । उनले गत सिजन रियललाई लिग जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
बेन्जिमा क्रिस्टियानो रोनाल्डोले रियल छाडे यता क्लबका लागि मुख्य खेलाडी रूपमा छन् । उनले आफूलाई उत्कृष्ट फरवार्डको रुपमा प्रमाणित गरेका छन् ।

६.नेइमार–पेसिर सेन्ट जर्मन (पिएसजी)

गत सिजन ब्राजिलियन फरवार्ड नेइमारले एक सफल खेलाडीको रुपमा बिताए । उनले पिएसजीलाई लिग वानलगायत उपाधि दिलाउन तथा च्याम्पियन्स लिगको फाइन पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । चोटका कारण केही समय मैदान बाहिर रहे पनि उनको प्रदर्शन उच्च थियो । 

५.क्रिस्टियानो रोनाल्डो– युभेन्टस्

​३५ वर्षीय यी पोर्चुगिज फरवार्डले अहिले पनि युवा जोसका साथ मैदानमा प्रदर्शन गरिरहेका छन् । उनलाई रोक्न जो कोहीलाई मुस्किल पर्छ । उनले गत सिजन युभेन्टसलाई सिरी ‘ए’उपाधि जिताउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले गत वर्ष पोर्चुगलका लागि  सय गोल पूरा गरे । रोनाल्डोले २०२० मा शताब्दीकै उत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारे । 

 ४.सर्जियो रामोस– रियल मड्रिड

स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस क्लबका लागि प्रमुख खेलाडी हुन् । उनले गत सिजन रियललाई लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रामोस रियलका लागि कति महत्त्वपूर्ण खेलाडी हुन् भन्ने कुराको पुष्टि चोटका कारण उनी अनुपस्थित हुँदा रियलले गरेको प्रदर्शनले गर्छ ।

३. केलियन एमबाप्पे –पिएसजी

फ्रान्सेली युवा फरवार्ड एमबाप्पेले पिएसजीलाई लागि घरेलु लिगलगायत विभिन्न उपाधि जिताए । तर, पहिलोपटक टिमलाई च्याम्पियन्स लिग भने दिलाउन सकेनन् । पिएसजीले फाइनलमा बायर्न म्युनिखसँग १–० को पराजय ब्यहोरेको थियो ।

एमबाप्पेलाई वर्तमान समयमा उत्कृष्ट युवा खेलाडीका रुपमा लिइन्छ । उनले आफूलाई एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गरिसकेका छन् । 

२.जोसुवा किमिच– बायर्न म्युनिख

किमिच वर्तमान समयका एक उत्कृष्ट मिडफिल्डर हुन् । गत सिजन बायर्न म्युनिखले पाएका हरेक सफलतामा उनको महत्त्वपूर्ण भूमिका थियो । उनले क्लबका लागि ७ गोल गर्नुका साथै १७ गोलका लागि अवसर सिर्जना गरेका थिए ।

१.रोवर्ट लेवान्डोस्की –बायर्न म्युनिख

गत सिजन रोबर्ट लेवान्डोस्कीकै नाममा रह्यो भन्दा फरक नपर्ला । उनको सनसनीपूर्ण प्रदर्शनले विश्व फुटबलको ध्यान खिचेको थियो । उनी बुन्डेस लिगा तथा च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए । 

लेवान्डोस्कीले गत सिजन ४४ खेलमा ५५ गोल गर्नुका साथै १० गोलका लागि अवसर पनि सिर्जना गरेका थिए । उनले गत वर्ष फिफा वर्ष खेलाडीको अवार्ड पनि हात पारे । 
 

  • प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार १७:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया