कृषिमा वैदेशिक लगानीको विरोधमा प्रदर्शन

कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाले प्रदर्शन गरेका छन् । 

खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा  कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णय विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । 

कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हट्नुपर्ने बताए । 

वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको उनले बताए ।

सरकारले प्राथमिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरूको गाँस खोस्न खोजेको आरोप संयोजक अधिकारीको छ । कृषिको प्राथमिक क्षेत्रमा नभई मूल्य शृङ्खलाका कुराहरूमा वैदेशिक लगानी भित्र्याउन सक्ने सम्बन्धमा सम्बन्धित सरोकारवालासँग छलफल गरेर अगाडि बढ्न सकिने पनि अधिकारीले बताए ।

प्रदर्शनका सहभागीले खाद्य सम्प्रभुताको सम्मान गर्दै नेपालको कृषिलाई आत्मनिर्भर, दिगो र पर्यावरणमैत्री खेतीपातीको दीर्घकालीन दृष्टिकोण बनाउन पहल भइरहेको अवस्थामा सरकारले दूरगामी प्रभावको ख्याल नगरी हचुवाको भरमा निर्णय गरेको आरोप लगाए । 



प्रदर्शनमा ‘खाद्य सुरक्षा तथा सम्प्रभुताको अधिकार सुनिश्चित गर’, ‘कृषिको प्राथमिक उत्पादनमा खुल्ला गरिएको वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘कृषिमा वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘जनमुखी भूमिसुधार लागू गर’, ‘भूमिहीन, साना तथा सीमान्त किसानको भूमि तथा कृषि अधिकार सुनिश्चित गर’लगायत प्लेकार्डसहित सडकमा उभिएका थिए ।



  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १७:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया