जुर्मुराउँदै स्टेज कार्यक्रम : फेरिँदै कलाकारको दैनिकी

गायक हेमन्त शर्मा एक वर्षको अन्तरालपछि यसै साता मोरङको स्टेजमा चढे । विराट चोकमा भएको सांगीतिक कार्यक्रममा सहभागिता जनाउन पुगेका शर्माले कोरोना अघिभन्दा पनि दर्शक अझै धेरै उत्साही भएको बताए । लामो समय कुनै मेला महोत्सव र मनोरञ्जनात्मक कार्यक्रम नहुँदा मोनोटोनस भएका दर्शकलाई यस्ता खाले कार्यक्रमले केही राहत दिएको गायक शर्माले बताए ।

गायक शर्माले मोरङको विराट चोक हुँदै झापाको गौरादह तथा धरान भेडेटारको कार्यक्रममा सहभागिता जनाए । लामो समयपछि कार्यक्रममा सहभागी भएका शर्माले दर्शकले जस्तै फरक महसुस गरे । लामो समय एक्ला एक्लै हिँडिरहेका मान्छेहरु ठूलो संख्या भेट हुँदा अर्कै खालको महत्त्व र रमाइलो हुने रहेछ शर्माले भने ।

नेपाली नयाँ वर्षको स्वागतका लागि देश तथा विदेशमा स्टेज कार्यक्रमहरुको सेटिङ हुँदै थियो । चलेका कलाकारको व्यस्त सेड्युल बनिसकेको थियो । ठिक त्यही समय विश्वमा माहामारीका रुपमा कोरोना भाइरस फैलियो । जसका कारण तयारीमा रहेका सबै स्टेज कार्यक्रम रद्द गरियो ।

नेपाल सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि स्वदेशमै भइरहेका फाट्टफुट्ट कार्यक्रम पनि रद्द भए । यसको सबैभन्दा ठूलो असर स्टेज कार्यक्रमबाट मनग्य आम्दानी गर्ने कलाकारलाई पर्न गयो । धेरै कलाकार कोरोनाकालमा बेरोजगारै भए । कतिले यो समय गाउँमा गएर समय बिताए ।

बिस्तारै जन-जीवन सामान्य बन्दै गएको छ । मनोरञ्जन क्षेत्र पनि पुरानै लयमा फर्कने बाटोमा छ । विश्वका विभिन्न देशमा कोरोना विरुद्धको खोप सुरु भएसँगै नेपालमा पनि पहिलो डोजको खोप वितरण गरिएको छ । यो सँगै स्टेज कार्यक्रमको क्रम पनि बढेको छ ।

गायिका तथा कार्यक्रम प्रस्तोता मन्जु पौडेलले स्टेज, माइक्रोफोन र दर्शकलाई खुब सम्झना गर्दै लकडाउनको समय गुजारिन् । देश तथा विदेशका अधिकांश कार्यक्रममा सहभागिता जनाउने मञ्जुलाई लामो समयको अन्तरालपछि स्टेज चढ्दा केहीबेर आफ्नै कन्फिडेन्ट लुज भएको महसुस भयो । मञ्चको प्रस्तुतिमा पुरानै आत्मविश्वास ल्याउन उनले निक्कैबेर घोरिनु पर्‍यो । दर्शकको उपस्थिति बाक्लिँदै गएपछि उनको आत्मविश्वास पनि फर्कंदै गयो । भन्छिन्, ‘लामो समय बाहिर ननिस्किएपछि बानी हराउँदै जाने रहेछ ।’



गायिका सिर्जु अधिकारी पनि स्टेज कार्यक्रम सुरु भएपछि निक्कै उत्साहित छन् । कोरोना अघि उनका देश तथा विदेशमा थुप्रै कार्यक्रमका सेड्युल बनेका थिए । कोरोनाकै कारण ती सबै बिथोलिए । कार्यक्रम बिथोलिँदा उनको आय-आर्जनमा नराम्रो असर गर्‍यो । स्टेज कार्यक्रमबाट राम्रै आम्दानी गर्ने र सामान्य जीवन गुजारा गर्ने सिर्जुलाई कार्यक्रम नहुँदा ‘अब के गर्ने’ भनेर आफैंलाई प्रश्न गर्न थालेकी थिइन् । कोरोना कहर अलि शान्त भएलगत्तै आफ्नी बहिनीसँग मिलेर रेस्टुराँ सुरु गरिन् ।

गीत-संगीतमा रमाइरहेकी सिर्जुको मन रेस्टुराँमा रमाएन । उनलाई रेस्टुराँ सञ्चालनमा सुरु गर्नुअघि लागेको थियो कोरोना सकिएकै छैन । जब रेष्टुराँमा मानिसहरुको बाक्लो उपस्थिति देखिन थाल्यो उनलाई लाग्यो कोरोना त गइसकेछ । उनलाई मेला महोत्सवको तिब्र पर्खाइ थियो । बिस्तारै सुरु भएको छ । अब बिस्तारै आफ्नो व्यस्तता पनि बढेर जाने उनले विश्वास लिएकी छन् ।



१० महिनापछि गायक तथा मोडल दुर्गेश थापा भारतको आसाममा पुगेर स्टेज चढे । लामो समयपछि स्टेजमा प्रस्तुति दिन पाउँदा उनी निक्कै उत्साहित थिए । कोरोनाको चपेटामा परेको मनोरञ्जन क्षेत्र कहिले सक्रिय होला र दर्शकसँग नजिकिन पाइएला भन्ने थियो । बिस्तारै स्टेज कार्यक्रमका सेड्युल सार्वजनिक भएसँगै आफ्नो पनि व्यस्तता बढ्ने उनले महसुस गरेका छन् ।

लामो समयपछि सुरु भएको स्टेज कार्यक्रममा जान पाउँदा आफूलाई निक्कै खुसी लागेको गायिका टीका सानुले बताएकी छन् । लामो समयपछि स्टेज चढ्दा गायक प्रकाश सपुत त झन् भावुक नै भए । उनले यति छिटै स्टेज कार्यक्रमहरु सुरु होलान् भनेर सोचेकै थिएनन् ।

स्टेज कार्यक्रम सुरु भएसँगै ज्योति मगर, मेलिना राई, प्रकाश सपुत लगायतका कलाकारको व्यस्तता बढ्दै गएको छ । स्टेज कार्यक्रम बढ्दै गएसँगै पुनः कलाकारहरूका दैनिकी फेरिन थालेका छन् । धेरै कलाकारहरु काठमाडौं बाहिर भेटिन, देखिन थालेका छन् ।

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १८:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया