महिलामाथिको हिंसा अन्त्य नभएसम्म समाज सभ्य हुँदैनः पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाजलाई सभ्य र सुरक्षित बनाउनका लागि महिला हिंसा अन्त्य हुनु आवश्यक भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाहरु न्यूनीकरण हुन नसकेको र अपराधीहरू कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए । 

उनले पछिल्लो समय हुने अपराधिक घटनाले महिलाहरुले समाजमा असुरक्षित महसुस गरिरहेको बताए । साथै, उनले महिलामाथि हुने हिंसाका घटना अन्त्य नहुँदासम्म नेपाली समाजलाई सुरक्षित र सभ्य बनाउन नसकिने बताए । 

उनले भने, ‘महिला हिंसाका घटना न्यूनीकरण हुन सकिरहेको छैन । यो ज्यादै दुःखको कुरा हो । स–साना बालबालिकाहरुको बलात्कारपछि हत्याका घटनामा अपेक्षाकृत न्यूनीकरण हुन सकिरहेको छैन । कतिपय घटनाका अपराधीहरु कानुनको दायरामा आउन सकिरहेका छैनन् । महिला हिंसाका अन्य घटनाहरुपनि थुप्रै घटिरहेका छन् । र मानिसमा चेतनाको कमीका कारण हो या अपराधीको पहिचान र उचित कानुनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहेका छन् ।’

सबैले यसतर्फ गम्भीर भएर सोच्ने अवस्था आएको बताए । एक्काइसौं शताब्दीको यो सभ्य समाजलाई गिज्याइरहेका महिला हिंसाका घटनाहरूले दिदीबहिनीहरुले असुरक्षित महसुस गरिरहेको उनको भनाइ छ । अर्कोतर्फ यस्ता घटनाहरूले विश्व जगतमा देशको छवि समेत धुमिल बनिरहेको उनले बताए ।

‘हामीले जबसम्म स्कुल गएका छोरीहरू घर फर्कन सक्दैनन् कि, मध्यरातमा कार्यस्थलबाट फर्किरहेका दिदीबहिनीहरु हिंसामा पर्छन कि , घर भित्र रहेका दिदीबहिनीहरु कुटपिट तथा हिंसामा पर्छन् कि भन्ने आशंका गरिरहनुपर्ने अवस्थाको अन्त्य गर्दैनौँ तबसम्म हाम्रो समाज सभ्य र सुरक्षित बन्न सक्दैन’, उनले भने । 



उपराष्ट्रपति पुनले राज्यको हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यस उपलब्धिप्रति गर्व गर्दै बाँकी उपलब्धीहका लागि सचेत रहन आग्रह समेत गरे । 



  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार १५:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया