काठमाडौंमा बरामद युरेनियम २० वर्षदेखि एकै घरमा थियो
कारोबारी बनेर पुगेको थियो प्रहरी

प्रहरीले साढे २ केजी युरेनियमसहित काठमाडौंबाट चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पालले पत्रकार सम्मेलन गर्दै यसबारेको विवरण सार्वजनिक गरेका हुन् । 

युरेनियम २३८ को गैरकानुनी कारोवार भइरहेको सूचनाका आधारमा उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप लिखु तामाकोशी-५ का ४० वर्षीय नारायण सिंह तामाङ र ४० वर्षीया जानुका तामाङ, रामेछापकै बागजोर नगरपालिका निवासी  २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने छन् । पक्राउ परेका चारै जनालाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

बरामद युरेनियम प्रतिकेजीको मूल्य एक अर्ब भन्दामाथि पर्ने महानगरीय प्रहरी कार्यालय प्रमुख पालले जानकारी दिएका छन्। तर उक्त युरेनियम प्रशोधन नभइसकेको अवस्थामा पाइएको हो। 

पालले परीक्षणबाट युरेनियम नै भएको पुष्टि भए पनि प्रशोधन हुन बाँकी रहेको बताए। पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने बताइएको छ । 

यसरी भेटियो युरेनियम



नेपालकै इतिहासमा पहिलो पटक यति महँगो मूल्यको युरेनियम समातिएको प्रहरीले जनाएको छ । यो घटनाको सुरुवात प्रहरीलाई आएको खबरबाट भएको बताइन्छ । 

करिब ३ महिना अगाडि प्रहरीलाई खबर आयो, बौद्धमा राखिएको युरेनियमबारे । भनियो-बेच्नका लागि बौद्धको एक घरमा ठूलो परिमाणमा युरेनियम राखिएको छ ।



महानगरीय प्रहरी कार्यालयका एक अधिकारी भन्छन्, 'यो खबर आउनसाथ विशेष टोली खटायौँ । त्यसपछि प्रहरीमा आएको सूचनाबारे खोजबिन हुन थाल्यो । खबर पुष्टि भइसकेपछि त्यसतर्फ निगरानी बढायौँ। त्यसपछि नियन्त्रणमा लिने रणनीति तय भयो।' 

महानगरीय प्रहरी कार्यालय प्रमुख पालका अनुसार पक्का भएपछि एकजना कारोबारी खडा गरिएको थियो। 'त्यसपछि एक जना कारोबारी खड गरियो, तिनै कारोबारीमार्फत बार्गेनिङ गरेर चारै जनालाई नियन्त्रणमा लियौँ।’यसमा संलग्न अन्यबारे खोजबिन भइरहेको पनि पालले जानकारी दिए।

२० वर्षदेखि एउटै घरमा 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो युरेनियम काठमाडौंमा लामो समयदेखि राखेको पाइएको छ । प्रहरी अधिकारी भन्छन्, कम्तीमा १५/२० वर्षदेखि एकै घरमा युरेनियम राखिएको थियो।' 

धेरै समय राखिएपछि यति महंगो सामान राख्न नहुने भन्दै उनीहरुले गोप्य रुपमा कारोबारी खोज्न थालेको खुलेको छ। यसलाई बेच्ने योजना अनुरुप कारोबारीहरु विभिन्न ठाउँमा पुगेको पाइएको छ। त्यहीँबाट प्रहरीले सूचना पायो अनि छापा हान्यो। 

प्रहरीका अनुसार यो युरेनियम लुकाउने र बेच्ने योजनामा घरबेटीको पनि संलग्नता रहेको छ। त्यहीकारण घरबेटी जानुका तामाङ पनि पक्राउ परेकी छन् ।

भारतबाट आयो

प्रहरीले बरामद गरेको युरेनियम काठमाडौंमा बेच्न भारतबाट ल्याएको बताइन्छ। यो युरेनियम बाहिरबाट ल्याइएको प्रहरी अधिकारीको दाबी छ।

अहिलेसम्मको प्रहरीको प्रारम्भिक अनुसन्धानमा धेरै समय पहिला भारतको एउटा खानीबाट यो ल्याइएको हो। तर त्यो कुन नाकाबाट र कसरी ल्याइयो भन्ने खोजबिन भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।  

के हो युरेनियम?

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सीमित आयु हुन्छ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।

एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा कति छ त युरेनियम ?

नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनबाट देखिएको छ।

खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमानथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा  बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।

विज्ञहरुका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् । मुस्ताङसँगै मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम छ।

अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथाङमा रहेको पुष्टि भएको हो। तर सरकारले अहिलेसम्म उक्त युरेनियमको खानी उत्खनन गरिसकेको अवस्था छैन।

बजार मूल्य

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई 'युरेनियम-२३५' भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ।

यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) पर्न आउँछ। जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो।

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १८:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया