काम नसकिँदै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको तयारीमा प्रधानमन्त्री

विगतमा भारतले लगाएको नाकाबन्दी तथा पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि प्रभावित दुई ठूला अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न नहुँदै उद्घाटनको तयारी अघि बढेको छ । उक्त दुई ठूला विमानस्थलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी अघि बढेको हो ।

पछिल्लो समय भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भइरहेको छ । यी दुवै विमानस्थलको निर्माण अन्तिम चरणमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आगामी वैशाखको पहिलो सातासम्ममा पूर्ण रूपमा निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको छ ।

यद्यपि प्रधानमन्त्री ओलीले भने उक्त दुई विमानस्थलको निर्माण सम्पन्न नभई उद्घाटन गर्ने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आगामी वैशाख १ गते दुवै विमानस्थलको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणले उद्घाटनको तयारी अघि बढाइसकेका छन् । 

मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनका आधारमा उद्घाटनको तयारी गरिएको हो । यसअघि नै प्रधानमन्त्रीले आन्तरिक उडान गर्नेगरी उद्घाटनको तयारी गरेकोमा मन्त्रालयले त्यसलाई रोकेको मन्त्रालयले जानकारी गराएको छ ।

निर्माण नै सम्पन्न नगरी हतार गरेर उद्घाटन गर्दा समस्या आउनसक्ने भन्दै यसअघि विमानस्थल उद्घाटन गर्न रोकिएको थियो । अहिले पुनः उद्घाटनको तयारी भएको छ । विभिन्न अवरोधका कारण लामो समयदेखि विमानस्थल निर्माण सम्पन्न हुन सकेको छैन, उद्घाटन भएपछि निर्माण रोकिने देखिएको स्रोतको भनाइ छ ।



प्राविधिक कामदार निर्माण क्षेत्रमा नआउँदा एक वर्षदेखि उपकरण जडान लगायतको काम रोकिएको छ । निरन्तर रूपमा काम भएमा निर्माणको अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थल सञ्चालनमा आउन अझै ६ महिना लाग्छ, काम सक्ने तयारी नगरी उद्घाटनको हतारो मात्र भएको मन्त्रालयका केही अधिकारी बताउँछन् । 

त्यस्तै गौतमबुद्ध विमानस्थल निर्माणको अन्तिम चरणमा पुगे पनि भारत सरकारले अझैसम्म उडानका लागि आवश्यक पर्ने हवाई रुट दिएको छैन । भारत सरकारले उडानको अनुमति नदिँदा हाल नेपालीसहित नेपाल आउने वायुसेवा कम्पनीहरूले लामो दूरीमार्फत उडान गर्नुपर्ने बाध्यता रहेको छ । तसर्थ भारत सरकारले हवाई रुट प्रदान नगरेसम्म उक्त विमानस्थलबाट कुनै पनि उडान गर्न सक्ने अवस्था छैन । 



सन् २०१५ बाट निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९३ प्रतिशत सम्पन्न भएको छ । निर्माणको सबै काम सकिए पनि उपकरण जडान गर्ने प्राविधिक नहुँदा विगत एक वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ ।

त्यसैगरी, सन् २०२१ जुलाई १० भित्रमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हाल ७० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ । सम्झौता अवधिभन्दा ६ महिनाअघि नै काम सम्पन्न गर्ने तयारी भएको उक्त विमानस्थल निर्माणले कोरोना महामारीका कारण गति लिन सकेको छैन । कोरोनाका कारण एक वर्ष अघिदेखि निर्माण सुस्त गतिमा भइरहेको छ ।

  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १२:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया