कोरोनाको बाहनामा २ वर्षदेखि निर्माणाधीन पुल अलपत्र
वीरेन्द्रनगरको नेवारे खोलमा निर्माणाधीन मोटरेबल पुल । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १२ र १३ का स्थानीय २ वर्षदेखि नेवारे खोललाई जोड्ने पुल बन्ने आसमा छन् । वीरेन्द्रनगर उपत्यकाको पूर्वी क्षेत्रमा पर्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण ढिलाइ हुँदै गएको छ । पुल निर्माणको काम गत आर्थिक वर्ष ०७६/७७ असार मसान्तमा नै सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पुल अलपत्र परेको हो ।

निर्माण कम्पनीले गत आर्थिक वर्षमा कोरोनाका कारण निर्माण गर्न नसकिएको बताएपछि चालु आर्थिक वर्षको पुस मसान्तसम्म म्याद थप भएको थियो । तर, वैशाखसम्म पनि पुल निर्माणले तिव्रता पाउन सकेको छैन । कर्णाली प्रदेश सरकारबाट २ करोड ३७ लाख ५१ हजार ३९७ रुपैयाँमा आशिष-हाम्रो जे.भि. वीरेन्द्रनगर सुर्खेतले निर्माणको जिम्मा लिएको छ ।

चालु आर्थिक वर्षको वैशाख लाग्दा पनि निर्माणका काम सुरु नभएपछि यो वर्ष पनि पुल नबन्ने भन्दै स्थानीयले आक्रोश पोखिरहेका छन् । गत वर्ष कोरोना सुरु भएयता निर्माणको काम नै नभएको वीरेन्द्रनगर १२ का स्थानीय सुरेन्द्र सुवेदीले बताए ।

‘पुल नबन्दा वर्षायाममा खोला वारिपारि गर्न एकदमै कठिन हुने गरेको छ, खोलाको बीचमा माटो थुपारिएको छ त्यसले वर्षायाममा वरिपरिका बस्तीलाई नै जोखिममा पारेको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीसँग यस विषयमा स्थानीयले बुझ्न खोज्दा कहिले बजेट नहुँदा काम नभएको, कहिले १० दिनका काम सक्छु भन्ने जस्ता आश्वासन दिइएको छ ।’

पुल निर्माणका लागि चालु आर्थिक वर्षमा छेउछाउमा वाल लगाउने काम भए पनि अन्य काम हुन सकेको छैन । वर्षायाममा खोलाले अटो रिक्सा, मोटरसाइकल समेत बगाउने गरेको स्थानीयले बताउँछन् । ८, १० वर्षदेखि पुल बन्ने आसमा बसेका स्थानीयले पुल नबन्दा एकदमै समस्या भोगिरहेको वीरेन्द्रनगर १२ कै अर्का स्थानीय केशवप्रसाद आचार्यले बताए । ‘सरकारी क्षेत्रबाट हुनुपर्ने कामहरू एकदमै ढिला भइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारका मन्त्रीहरू सत्ता जोगाउनमा व्यस्त छन् ।

उनीहरूलाई झण्डा हल्लाउन र रिवन काट्नमै ठिक्क छ ।’ उक्त पुलले वडा नम्बर १२ र १३ जोड्ने मात्रै होइन पूर्वी सुर्खेतका कहरेखोला, गर्पण हुँदै जाजरकोट समेत जोड्ने गर्छ । 



वडाबासी १० वर्षदेखि पुल निर्माणमा लागि परे पनि अझ पूरा नभएको वडा नम्बर १२ का वडा सदस्य चूडामणि चपाईले बताए । ‘पुल निर्माणका लागि हामी १० वर्षदेखि लागि परेका छौँ,’ उनले भने, ‘केन्द्र सरकारले डिपिआर गरेर लामो समयसम्म थन्क्यायो । प्रदेश सरकार निर्माण भएपछि बल्ल तल्ल पुलको ठेक्का परेको छ । त्यो पनि समयमा हुन सकेको छैन ।’ 

गत वर्ष कोरोनाका कारण काम रोकिएको भने पनि यो वर्ष भन्न नपाइने उनको भनाइ छ । पुल निर्माणको विषयलाई लिएर १० पटकभन्दा बढी पूर्वाधार निर्देशनालयमा जाँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ । 



निर्देशनालयको ४ पटक ताकेता पत्र 

पुल निर्माणको कामलाई लिएर पूर्वाधार विकास निर्देशनालय सुर्खेतले ४ पटक सम्म ताकेतापत्र निर्माण कम्पनीलाई पठाएको छ । स्थानीयको चरम गुनासो आएपछि निर्देशनालयबाट २०७७ भदौ ३१ गते, असोज ९ गते, कात्तिक १४ गते र फागुन २० गते सम्म ताकेता पत्र पठाइएको छ । तर, निर्माण कम्पनीले त्यसको कुनै वास्ता नै गरेको छैन । पूर्वाधार निर्देशनालयका इन्जिनियर सूर्यबहादुर शाहीले ४ पटक सम्म ताकेता पत्र बढाउँदा पनि पुल निर्माणले तिव्रता नपाएको बताए । 

‘हामीले अफिसका तर्फबाट गर्नुपर्ने सबै काम गरिसकेका छौँ,’ उनले भने, ‘अफिसबाट ४ पटक चिठी लेख्दा पनि निर्माण कम्पनीले कहिले कोरोनाका कारण, कहिले सामग्री नआइपुग्दा ढिला भएको जस्ता कारण देखाइरहेको छ ।’ २५ मिटर लामो उक्त पुलको निर्माणको गति बढाएको अवस्थामा चालु आर्थिक वर्षको असार मसान्त सम्ममा नै निर्माणको काम सकिने उनको भनाइ छ । 

असार मसान्तसम्म सक्ने कम्पनीको प्रतिबद्धता

यता निर्माण कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माणको काम सक्ने जनाएको छ । पछिल्लो समय निर्माण कम्पनी र पूर्वाधार निर्देशनालय बीच निर्माणको काम असार मसान्तसम्म सक्ने सहमति भएको छ । तर चालु आर्थिक वर्षमा नै निर्माणको काम सकिनेमा स्थानीय ढुक्क छैनन् । 

आशिष-हाम्रो जे.भी, वीरेन्द्रनगरका प्रतिनिधि कर्णबहादुर बुढाले चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माणको काम सक्ने बताए । ‘हो निर्माणको काममा केही ढिलाइ भइरहेको छ,’ उनले भने, ‘गत वर्ष निर्माण गर्ने समयमा कोरोनाका कारण निर्माण गर्न सकिएन ।

चालु आर्थिक वर्षमा बिजुलीका पोल नहटाउँदा २, ३ महिना काम रोकियो, केही सामग्री अभावका कारणले पनि कामले तिव्रता पाउन सकेको छैन ।’ अब पुल निर्माणका लागि सम्पूर्ण समस्या समाधान भएको तर बाहिरबाट सामग्री आउन मात्रै बाँकी रहेको भन्दै उनले वैशाख २७, २८ गतेबाट कामले तिव्रता पाउने र असार मसान्तसम्म भ्याउने उनको भनाइ छ ।

  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार ११:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया