नेपाल सुपर लिग अन्तर्गत शुक्रबारको खेलमा पोखरा थन्डर्स एफसी विजयी भएको छ ।
उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सीमित एफसी चितवनमाथि २-१ को कठिन जित हात पारेको हो ।
खेलको ७२ औँ मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । उनले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो ।
८३ औं मिनेटमा चितवन १० खेलाडीमा सीमित बनेको थियो । उसका गोलरक्षक विशाल सुनारले डिबक्स बाहिर आएर हातले बल छोएपछि रेफ्री प्रज्ज्वल क्षेत्रीले सिधै रातो कार्ड देखाएका थिए ।
८६ औँ मिनेटमा कप्तान नवयुग श्रेष्ठले फ्रिकिक मार्फत् उत्कृष्ट गोल गर्दै पोखरालाई बराबरीमा ल्याए ।
थप गरिएको समयमा रफाइल रिमगागोले गोल गर्दै पोखराको जित पक्का गरे ।
जितसँगै पोखराले प्ले अफको सम्भावनालाई बलियो बनाएको छ । ऊ ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
चितवन ५ खेलबाट २ अंक जोड्दै अन्तिम स्थानमा छ । उसको प्ले अफ सम्भावना पनि समाप्त भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।