शम्भु थापाको टिप्पणी : कानुन मान्ने बाहिर छौँ, कानुन नमान्ने सरकारमा छन्
राष्ट्रपति र प्रधानमन्त्रीले निर्लज्ज खेल खेलेको आरोप

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली किचेनको एउटा कुनामा बसेर निर्णय गर्दैमा संसद विघटन नहुने र संविधान पनि नमर्ने बताएका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार गरेको छलफल कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्। थापाले संविधानसभाबाट बनेकाले यो संविधान कहिल्यै नमर्ने पनि दाबी गरेका छन्। 

'यो संविधान संविधानसभाले बनाएको संविधान हो। संविधानसभाको संविधान कहिले पनि मर्दैन। यसलाई मार्न कुनै पनि शासकले सक्दैनन्', उनले भने, 'यसको संशोधनका लागि संसदमै जानुपर्छ। यो संविधानको आधारभूत संरचना संसद हो। संसदलाई प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन र मर्दैन पनि।' 

उनले संविधान मान्ने शक्तिहरु सरकारबाहिर रहेको जिकिर गरे। 'संविधान मान्ने र कानुन मान्ने जति हामी बाहिर छौँ। कानुन नमान्नेहरु सरकारमा छन्', उनले भने, 'सारा नागरिक समाज र बुद्धिजीवी मिलेर हामीले संसद र संविधान मर्न नसक्ने पुष्टि गर्नुपर्छ।'

राष्ट्रपति र प्रधानमन्त्रीले एउटा किचेनमा बसेर हिसाब गर्दैमा संविधान र संसद समस्यामा नपर्ने उनले बताए। 'एउटा किचेनमा प्रधाचनमन्त्री र राष्ट्रपति बसेर हिसाब गर्दैमा, यो धाराबाट यो धारा जान्छ भनेर जुन खेल खेलिएको छ, त्यो अति निर्लज्ज र लज्जास्पद छ', उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा सत्ता छाड्दिनँ भनिरहेका छन्। त्यसैले संविधान अनुसार नै उनलाई फेरि पाठ सिकाउन जरूरी छ।'

थापाले सर्वोच्च अदालतमा विश्वास गर्न पनि आग्रह गरे। 'निष्ठावान न्यायमूर्तिहरु छन्। लामो समयसम्म जोड घटाउ गर्नुपर्ने आवश्यक छैन', उनले भने, 'फागुन ११ गते दिएको सर्वोच्चको फैसलाको कार्यान्वयन प्रक्रिया सुरु भएको छैन, प्रक्रिया नै सुरु नभइ संसद विघटन भएको छ।'



उनले नागरिकले कस्तो प्रकारको प्रधानमन्त्री र कस्तो राष्ट्रपति छन् भन्ने हेर्नुपरेको उनले बताए। 'प्रधानमन्त्रीका लागि शेरबहादुर देउवासहितले राष्ट्रपतिकहाँ कागज बुझाएपछि उनीहरुलाई चाहिँ नसोध्ने। तर रातारात राष्ट्रपतिलाई कहाँबाट कागज आयो?', उनले भने, 'अदालतसँग शक्ति छ तर पक्ष हुँदैन, उसँग कानुन हुन्छ।'

थापाले सभामुख सापकोटाले कानुनबारेमा सबै पक्षसँग छलफल गरे संविधानको व्यवस्था अनुसार गम्भीर कदम चाल्न तयार भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन्। 



  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १५:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया