गण्डकी प्रदेशसभामा आजदेखि बजेट अधिवेशन
फाइल तस्बिर

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो बस्दैछ । आज बस्ने प्रदेशसभा बैठकबाट गण्डकीको बजेट अधिवेशन पनि सुरु हुँदैछ । 

प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन बोलाएकी छन् । बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ 

आजदेखि सुरु हुने बजेट अधिवेशनमा आज दलका नेताहरुले सम्बोधन गरेपछि भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । 

कानुनी प्रावधान अनुसार बजेट आउनुभन्दा १५ दिनअघि बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । तर, बजेटका सिद्धान्त र प्राथमिकता संसदले पारित भने गर्नु पर्दैन ।

सदनमा आएको सुझावअनुसार प्रदेश सरकारले बजेट तयार गर्नेछ । असार १ गते प्रदेश सरकारले संसदमा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ । 

प्रदेशसभाको बजेट अधिवेशनले गण्डकी प्रदेश सरकारको छिनोफानो समेत गर्नेछ । यसअघि बहुमतको सरकारमा दाबी नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले ठूलो दलका नेताका हैसियतमा एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।



संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको अल्पमतको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेश सरकारले जेठ २९ अघि नै विश्वासको मत लिनुपर्छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुरुमै सरकारले विश्वासको मत लिनुपर्ने सुझाव दिएको छ । गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धन छ । 



गण्डकीमा नेकपा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ जना गरी ६० जना सांसद छन् ।

  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १०:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया