चर्चामा ‘जस्टिस फर सविता भण्डारी’ : ससुराबाटै सेक्सुअल ह्यारेसमेन्टपछि आत्महत्या
प्रहरी भन्छ : आत्महत्या दुरुत्साहन मुद्दामात्रै लगाउन सकिन्छ

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ । आफ्नै ससुराले सेक्सुअल ह्यारेसमेन्ट गरेको भिडियोले सामाजिक सञ्जाल तातेको हो । उक्त भिडियो चितवनकी सविता भण्डारीको हो । जसले गत वैशाख ४ गते आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । 

आफ्नै ससुराबाट यौन हिंसा तथा घर परिवारबाट खेप्दै आएको घरेलु हिंसा सहन नसकेर उनले आत्महत्याको बाटो रोजिन् । उनको न्यायका लागि भन्दै यतिबेला सामाजिक सञ्जालमा ‘जस्टिस फर सविता भण्डारी’ को माग जोडदार रूपमा उठेको छ । 

एकातिर ससुराबाट हुने यौन हिंसा अर्कोतिर श्रीमानसहित परिवारबाट हुने घरेलु हिंसा सहन नसकेर उनी आत्महत्याको बाटोमा पुगेकी थिइन् ।

यतिबेला यौन हिंसाको भिडियो क्लिप समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसले चौतर्फी रूपमा उनलाई न्याय चाहियो भन्ने आवाज उठेको छ । टिकटकमा समेत भिडियो क्लिप सार्वजनिक गर्दै न्यायको माग गर्नेको संख्या बढ्दो छ ।

के भएको थियो घटना ? 

चितवन शारदा नगरपालिका-१९ बख्यान चोककी २८ वर्षीया सविताले गत वैशाख ४ गते आत्महत्या गरिन् । साँझतिर झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले उनले लगाएको पासो काटेर प्रहरीलाई सम्पर्क गर्‍यो ।



प्रहरी घटनास्थलमा पुग्दा आत्महत्या गरेको जस्तो देखिएन । किनकि डोरी त काटिसकिएको थियो । आत्महत्या भएको खण्डमा घटनास्थलमा प्रहरीबाहेक कोही पनि जान पाउँदैन । तर, उनको घर परिवारले पासो लगाएको डोरी काट्दा समेत प्रहरीले उक्त विषयलाई गम्भीर रूपमा लिएन ।

सविताका भाइ सरोज भण्डारीका अनुसार घटनास्थलमा प्रहरी पुगेपछि राति उनको माइतीलाई खबर गरियो । सविताका बुबाको फोनमा नयाँ नम्बरबाट फोन आयो । ‘तपाईंको छोरीले आत्महत्या गरिन्, चाँडो आउनुपर्यो ।’ प्रहरीले फोनमा उक्त कुरा भन्दैगर्दा सविताका बुबा एकाएक बेहोस भए ।



माइतीबाट हामी नआउँदासम्म शव नउठाउनु भनियो । तर, प्रहरी र उनको घर परिवारले मानेनन् । काठमाडौंबाट चितवन पुग्दासम्म रातिको दुई बजिसकेको थियो । त्यो बेलासम्म शव भने प्रहरीले बुझिसकेको थियो । 

ससुराबाटै यौन हिंसा

एकदमै साहसी तथा निडर स्वभावकी आफ्नी दिदीले सामान्य कुरामा आत्महत्याको बाटो रोज्न नसक्ने सरोज बताउँछन् । उनीमाथि गम्भीर खालको घटना हुन थालेपछि उनी यो बाटोमा पुगिन् । 

उनका श्रीमान योगेन्द्रकुमार धिताल वैदेशिक रोजगारी । सासूआमा अस्पतालमा काम गर्ने कर्मचारी । घरमा पाँच वर्षीय छोरा, आफू र ७५ वर्षीय ससुरा मात्र । दिनभरमा घर एक्लै हुँदा ससुराको गिद्धे नजर उनमाथि पर्‍यो । त्यसपछि उनीमाथि यौन दुव्यर्वहार गर्न थाले ।

यो विषयले श्रीमानलाई समेत जानकारी दिइन् । माइतीमा पनि घटनाबारे जानकारी दिइन् । माइती पक्षबाट पनि सुरुमा त ७५ वर्षको वृद्ध मानिस केही समयमै मरिहाल्छ भन्नेतिर लाग्यो । अति नै हुन थालेपछि लकडाउनका बेला माइतमा आइन् । 

मानसिकसँगै शारीरिक यातना

तीन महिनाजति काठमाडौं माइतीसँगै बसेपछि उनलाई विदेश पठाउने भन्ने तय भयो । उनको पासपोर्ट तथा टिकटसमेत भइसकेको थियो । त्यहीबेला उनको नन्द र उनको श्रीमानले यो घरभित्रको कुरा हो, आपसमा मिलाउनुपर्छ भन्दै घर बोलाइयो ।

माइतीपक्षले घर नजाउ भन्दा पनि म केही दिनलाई हो जाने त्यसपछि काठमाडौं फर्किन्छु भन्दै गइन् । घर गएपछि ससुराबाट हुने यौन हिंसाको प्रमाणका लागि भन्दै बहिनीलाई भिडियो खिच्न लगाइन् । जुन भिडियो नै अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । र, उनीमाथि भएको यौन हिंसाको प्रमाण समेत बनेको छ ।

भिडियो खिचेपछि ससुरामा एकदमै डर पैदा भयो । उनमा मात्र नभएर उनको परिवार नै डरायो । त्यसपछि उनीहरूले सवितामाथि मानसिक तथा शारीरिक यातना दिन थाले । भिडियो समेत डिलिट गर्न लगाए । भिडियो डिलिट नगरेपछि उनलाई डिप्रेसनको औषधी नै खुवाउन थालेको सरोज बताउँछन् । 

‘दिदीलाई मानसिक रोगी देखाउनका लागि डिप्रेसनको औषधी नै खुवाउन थालेछन् । आफूमाथि भएको हिंसाबारे दिदीले श्रीमानलाई बताउँदा घरमा ठूलै झगडा परेको थियो’, सरोजले भने । 

जब डिभोर्स गराइदिने भन्दै घर बोलाइयो

ससुरा रमेशकुमार धिताल र अमजु भावना ढकाल उनीमाथि एकदमै टर्चर दिइरहन्थे । श्रीमान पनि रक्सी खाएर आउने अनि कुटपिट गर्ने । त्यस्तै दाइजोको विषयलाई लिएर पनि उनीहरूले बारम्बार टर्चर दिइरहन्थे । 

अति नै गरेपछि उनी माइतमै आएर बसेकी थिइन् । तर, अमजुका श्रीमान् भोज ढकालले फोन गरेर यो घरभित्रको विवाद हो, बसेर समाधान गर्नुपर्छ । डिभोर्स गराइदिन्छौँ भनेर बोलाएका थिए ।

भोजले डिभोर्स गराउनमा सहयोग गर्ने र छोरालाई पनि उनकै जिम्मा लगाइदिने भन्दै घर बोलाएका थिए । घरमा बोलाएपछि डिभोर्स कुरा कता हो झनै टर्चर दिन थाले । त्यसमा भोजकी श्रीमती भावना निकै सक्रिय रहेको सरोजको भनाइ छ ।

ससुराबाट यौन हिंसा, श्रीमानको कुटपिट र घर परिवारबाट हुने मानसिक तथा शारीरिक यातना सहन नसकेर उनी आत्महत्या गर्न बाध्य भइन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो

सामाजिक सञ्जालमा यतिबेला थुप्रै भिडियो र अडियो सार्वजनिक भइरहेका छन् । एउटा भिडियोमा ससुराले छोरी समानको बुहारीको काखमा सुतेर संवेदनशील अंगमा हात पुर्‍याइरहेको देखिएको छ ।

सविताले बहिनी सजनीसँग बोलेको अडियो संवाद पनि सार्वजनिक भएको छ । जहाँ सविताले भनेकी छन्, ‘म एकदमै विक भएँ । म सक्दिन कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम होपलेस र हेल्पलेस भइसकेँ । टेक केयर । म धेरै स्ट्रङ हुन खोजेँ तर भित्रैबाट कमजोर भइसकेँ । दिनदिनै यो पेन सहन सक्दिनँ ।’ 

स्थानीय विद्यालयका शिक्षक समेत रहेका रमेशले यसअघि पनि छोराकी जेठी श्रीमतीमाथि पनि त्यस्तै दुर्व्यवहार गर्ने गरेको पाइएको स्थानीय बताउँछन् । ‘दिदीका श्रीमानको यसअघि पनि बिहे भएको रहेछ । हामीले पछि थाहा पायौं । पहिलाको श्रीमतीमाथि पनि त्यस्तै व्यवहार गर्ने गरेपछि पछि भागेकी रहिछन्’, सरोजले भने । 

जेठी श्रीमतीले छोडेर गएपछि २०७१ सालमा झुक्याएर सवितासँग बिहे गरेका थिए । २०७१ वैशाख ३ गते सविता र योगेन्द्रको विवाह भएको थियो । तर, एनिभर्सरीको दोस्रो दिन नै उनले आत्महत्या गरिन् । 

आमाजु भावना ढकाल, उनका ससुरा र श्रीमानआमाजु भावना ढकाल, उनका ससुरा र श्रीमान

पीडक धरौटीमा रिहा

प्रहरीले घर परिवारको यातना सहन नसकेर आत्महत्या गर्न बाध्य भएको निष्कर्ष निकाल्दै त्यही अनुसार अनुसन्धान गरेको थियो । चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले सविताको मृत्यु हत्या नभएर आत्महत्या नै भएको बताए । 

आत्महत्याको कारण सविताको परिवारले दिएको यातना रहेको भन्दै उनीहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको थियो । 

जिल्ला अदालत चितवनले श्रीमान योगेन्द्र र ससुरा रमेशलाई ११ लाख धरौटीमा रिहा गर्‍यो । रिहा गर्दा अदालतले कोरोना महामारीको कारण देखाउँदै धरौटीमा छोड्न आदेश दिएको थियो । रमेशको छोरी भावना भने अझै फरार छिन् ।

पीडकहरू धरौटीमा रिहा भएपछि सविताको माइतीपक्षबाट विभिन्न भिडियो सार्वजनिक गरेका थिए । प्रहरीले उक्त घटनालाई गम्भीर रूपमा नलिएर एक सामान्य घटना सरह व्यवहार गर्दै आएको सविताका भाइ सरोज बताउँछन् ।

प्रहरीले घटनालाई सामान्य लिँदा आफूहरूले न्याय नपाएको उनको भनाइ छ । प्रहरीले गम्भीर भएर छानबिन गरेको भए अहिले यसरी न्यायको माग गर्दै हिँड्नुपर्ने अवस्था नआउने उनी बताउँछन् ।

सविताको माइतीले आफ्नो छोरीको हत्या नै भएको दाबी गर्दै आएको छ । प्रहरीलाई त्यही आधारमा छानबिन गर्न माग गर्दै आएको छ । तर, प्रहरीले भने आत्महत्यापछि आत्महत्या दुरुत्साहन कसुर बाहेक अरू केहीमा पनि अनुसन्धान नहुने जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले प्रहरीले अनुसन्धानमा कुनै कमजोरी नगरेको बताए । 

यौन दुव्यर्वहार गरेको भिडियो सार्वजनिक हुँदा पनि किन आत्महत्या दुरुत्साहन मुद्दा भन्ने प्रश्नमा एसपी अधिकारी भन्छन्, ‘सविताले आत्महत्या नगरेको भए यौन हिंसाको मुद्दा लाग्थ्यो । तर, अब आत्महत्या दुरुत्साहन बाहेक अरू मुद्दा चल्दैन ।’

 

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १२:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया