कञ्चनपुरमा सीमा विवाद : आफ्नै बारीमा खेती गर्न पाउँदैनन् नेपाली

कञ्चनपुरका विभिन्न क्षेत्रमा लामो समयदेखि सीमा नाकाको विवाद कायमै छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेको नारायणप्रसाद अधिकारीको परिवारलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले खेती लगाउने र घर भित्र्याउने समयमा दुःख दिँदै आइरहेको छ ।

उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक वर्ष दुःख दिने गरेको अधिकारीले बताए । २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन् ।

भारतीय सुरक्षा अधिकारीहरु नेपाली सीमा नाकामा दादागिरी देखाउँदै धम्क्याउँदै आइरहेका छन् । भारती सुरक्षाकर्मीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमा नाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गिलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्ने प्रतिउत्तर दिने गरेका छन् । 

भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाई धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएको छ । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् । भारतीय पक्षले उक्त जमिन, ‘नो मेन्स लेन्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आइरहेको त्यहाँका स्थानीयले बताएका छन् ।

हुलाकी सडक निर्माणमा अवरोध



भारतीय सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी सडकको निर्माणमा अवरोध गर्ने गरेको छ । एसएसबीको अवरोधका कारण डेढ वर्षदेखि एक किमिभन्दा बढी सडक क्षेत्रको निर्माण रोकिएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका अन्तर्गत मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किमि हुलाकी सडक निर्माण हुँदैछ । जसमध्ये बेलौरी नगरपालिका-८ खप्टीनाला क्षेत्रमा भारतीय एसएसबीले डेढ वर्षदेखि अवरोध सृजना गरिरहेको छ ।



एसएसबीको अवरोधका कारण डेढ वर्षदेखि सडक निर्माण रोकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ । एसएसबीले उक्त भूमि भारतमा पर्ने भन्दै काममा अवरोध सिर्जना गर्दा निर्माण अगाडि बढाउन नसकिएको हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैले बताए ।

स्थानीय प्रशासनबाट समस्या समाधानका लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कागजात मागेको हुलाकी सडक योजना कार्यालय धनगढीका इन्जिनियर मडैले बताए । ‘हामीले यहाँको समस्या दर्शाएपछि प्रधानमन्त्री कार्यालयबाट कागजात माग भएको छ,’ उनले भने, ‘माग भएअनुसार हामीले पनि सम्पूर्ण प्रमाण प्रधानमन्त्री कार्यालयलाई पठाएका छौं, केही पहल होला भन्ने आशा गरेका छौं ।’

भिडियो

एसएसबीले अवरोध सृजना गरेपछि कालोपत्र गर्न तयार भएको सडक निर्माणको काम रोक्नु परेको सडक निर्माणको ठेक्का पाएको बाबाहंस सिद्धिकीका सञ्चालक चक्रदीप शाहले बताए । विवादित क्षेत्रबाहेकको ठाउँमा मात्रै अहिले काम भइरहेको उनले बताए ।

‘गत वर्ष पनि एसएसबीसहित प्रशासनिक कर्मचारीले पनि सडक निर्माणमा अवरोध गरेका थिए,’ उनले भने, ‘निर्माण सामग्री बोकेका गाडी देख्ने वित्तिकै हतियारसहित एसएसबीको टोली आएर धम्की दिएर जान्छ, जसले गर्दा काम गर्न सकिएको छैन ।’

भारतीय एसएसबीले स्ट्रिप नक्सालाई आधिकारिक मानेर सीमामा क्षेत्रमा निर्माण हुने संरचनामा अवरोध सृजना गरिरहेको छ । जुन नक्सालाई नेपालले स्वीकार गरेको छैन । नेपालबाट अस्वीकृत नक्सालाई आधार मान्दै एसएसबीले सडक निर्माणमा अवरोध गरिरहेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताए ।

उनका अनुसार नेपाल र भारतको सीमा रेखाबाट आधा किमि चौडा नेपालतर्फ र अर्को आधा किमि भारततर्फको भू-भाग देखाएर तयार पारेको नक्सालाई नै स्ट्रिप नक्सा भनिन्छ । जसलाई धर्से नक्सा पनि भनिन्छ ।

चार दशक अघि २०३८ दशक अघि नेपाल-भारतको संयुक्त प्राविधि समिति (जटिसी) ले दुई दशक लगाएर स्ट्रिप नक्सा तयार पारेको थियो । सोही नक्साअनुसार २०४५ देखि २०४६ सम्म कञ्चनपुरको नदी क्षेत्र र २०५६ देखि २०६१ सम्म जमिन क्षेत्रको नक्सा पनि तयार भएको थियो । स्ट्रिप नक्सा तयार भएपछि ०६४ मा दुवै देशको प्राविधिक तहमा ९८ प्रतिशत समस्या समाधान भएको भन्दै स्ट्रिप नक्सामा हस्ताक्षर भयो ।

तर, कालापानी र सुस्ताको समस्या समाधान हुन नसकेपछि नेपालले उक्त नक्सालाई अस्वीकार गर्‍यो । अहिले सोही अस्वीकृत नक्साकै आधारमा एसएसबीले हुलाकी सडक निर्माणमा अवरोध गरिरहेको संयोजक भट्ट को भनाइ छ । उनका अनुसार स्ट्रिप नक्सालाई आधारमा मान्ने हो भने कञ्चनपुरको ठूलो भू-भाग भारतमा पर्नेछ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १०:२७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया