नेपालको आर्थिक वृद्धिदर २.७% रहने विश्व बैंकको संशोधित प्रक्षेपण

विश्व बैंकले सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको छ । यसअघि गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले त्यस बेलाको प्रक्षेपणलाई परिमार्जन गरी २.१ प्रतिशत बिन्दु थप गरेको हो । खास गरी चालू आर्थिक वर्षमा धानको उत्पादन राम्रो भएकाले आर्थिक वृद्धिदर केही सकारात्मक हुने विश्व बैंकको भनाइ छ ।  

प्रस्तुत आर्थिक वृद्धिदर दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेशको आर्थिक वृद्धिदर (३.६ प्रतिशत) पछिको सबभन्दा राम्रो वृद्धिदर हो । ग्लोबल इकोनोमिक प्रस्पेक्टस् सार्वजनिक गर्दै विश्व बैंकले यो वर्ष पाकिस्तानको १.३ प्रतिशत तथा बाँकी दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरेको छ ।

अर्को वर्ष (२०२१/२२) मा भने नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान छ । यो आर्थिक वर्षमा भारतको ८.३ प्रतिशत, बंगलादेशको ५.१, भुटानको ५ प्रतिशत र पाकिस्तानको २ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । यस्तै सोही समय माल्दिभ्सको ११.५ प्रतिशत, अफगानिस्तानको २.६ प्रतिशत र श्रीलंकाको २ प्रतिशतको आर्थिक वृद्धिदर रहने विश्व बैंकले जनाएको छ । 

केन्द्रीय तथ्यांक विभागले भने चालू आर्थिक वर्ष ०७७/७८ मा आर्थिक वृद्धि ४.०१ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०७८/७९ का लागि गत जनवरीमा विश्व बैंकले २.५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । 

आर्थिक वर्ष ०७९/८० मा भने ५.१ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान विश्व बैंकको छ । गत आर्थिक वर्ष ०७६/७७ मा देशको अर्थतन्त्र इतिहासकै कमजोर अर्थात् माइनस २.१२ प्रतिशतमा झरेको थियो । 
 





  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १५:४५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया