सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमा विवाद बढेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताको हैसियतमा प्रकाशबहादुर शाहबाट हुने काम, कारबाही स्वीकार नगर्न सभामुखलाई अनुरोध गर्दै पत्र लेखेको छ ।
प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहीबार सभामुख अर्जुनबहादुर थापालाई पत्र लेख्दै शाहले पार्टी विरोधी र राजनीतिक आचरण विपरीत क्रियाकलाप गरेकाले उनीमाथि कारबाही प्रक्रिया थालिसकेको जानकारी गराउँदै उनको काम कारबाही स्वीकार नगर्न अनुरोध गरेको हो ।
पत्रमा संसदीय दलको विधान २०७८ समेत पार्टीबाट अनुमोदित नभएकाले संसदीय दलका नेता शाहले गर्ने काम कारबाही वैधानिक नहुने उल्लेख गरिएको छ ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका शाह सहित १७ सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि एमाले विवाद बढेको छ । भट्टको विपक्षमा मतदान गर्ने ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाईं संसदीय दलका नेता समेत रहेका माधव पक्षका नेता शाहले स्पष्टीकरण सोधेका बेला ओली पक्षीय प्रदेश कमिटीले उनीसहित माधव पक्षका १७ जनासँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।