तीन मानिससहित चीनले पठाएको यान अन्तरिक्षको कक्षमा पुग्यो

चीनले मानवसहित पठाएको अन्तरिक्षयान सफल रुपमा अन्तरिक्षमा प्रवेश गरेको छ । चीनले बिहीबार बिहान शेन्झउ–१२ नामका मानवयुक्त अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । 

चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै सिन्ह्वाले दिएको खबर अनुसार उक्त अन्तरिक्षयान अन्तरिक्षको कक्षमा पुगिसकेको छ । चिनियाँ समय अनुसार दिउँसो ३ः५४ बजे अन्तरिक्षको कक्षमा पुगेको हो । 

शेन्झउ–१२ लाई बिहीबार बिहान ९ः२२ बजे चीनको उत्तर-पश्चिम स्थित गोबी मरुभूमिबाट प्रक्षेपण गरिएको थियो।

यो अन्तरिक्षयानमा तीन अन्तरिक्ष यात्री छन् । सिन्हवा अनुसार उनीहरुको नाम नाइ हाइशेङ(५६ वर्ष) लिउ बोमिङ(५४ वर्ष) र टाङ होङ्बो(४५ वर्ष) रहेका छन् । नाइ र लिउ यसअघि पनि अन्तिरक्षमा गइसकेका छन् टाङ भने नयाँ हुन् । 

चीनले अन्तरिक्षमा अन्तरिक्ष केन्द्र निर्माणका लागि उनीहरुलाई पठाएको हो ।  

चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो । त्यहाँ पुगेका तीनै जना यात्री उक्त मोड्युलमा प्रवेश गरेर अन्तरिक्ष केन्द्र निर्माणका लागि काम गर्ने मानवयुक्त अन्तरिक्ष एजेन्सीले जनाएको छ । 



उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । अहिलेसम्म अमेरिका र रुसको मात्रै अन्तरिक्ष केन्द्र छ । यसअघि पनि थुप्रै पटक मानवसहित अन्तरिक्षमा यान पठाइसकेको चीनले पनि अन्तरिक्ष केन्द्र बनाउन लागेको हो । 

त्यो केन्द्रमा बसेर अन्तरिक्ष सम्बन्धी विभिन्न अनुसन्धान गर्ने लक्ष्य चीनको छ । 



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया