logo-img

रौतहटका किसानलाई मलको अभाव
फाइल तस्बिर

धान रोप्ने बेलामा हरेक वर्ष रौतहटका किसानले मलको अभाव झेल्नुपर्ने अवस्था रहेको छ । जिल्लाको भारतीय सीमावर्ती क्षेत्रबाट सहजै मल आउने गरेको भए पनि उत्तरी भेगका किसानले भने अभाव झेल्नु परेको छ । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरमा आउने मल हरेक स्थानीय तहलाई बरोबर बाँड्ने गरेको कम्पनीका प्रमुख रविकुमार केशरीले जानकारी दिए ।

यतिबेला जिल्लाको चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका किसान युरिया मल नपाएर छटपटाएका छन् । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरले जिल्लाभरिका कृषि सहकारीमार्फत् मल वितरणको व्यवस्था गरेको छ । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरमै पर्याप्त मात्रामा मल नभएका कारण वितरणमा समस्या आएको हो । 

मलका लागि सहकारीले तोकेका बिक्रेताकोमा दिनभर धाउँदा पनि एक बोरा युरिया पाउन नसकेको गुजरा १ का स्थानीय किसान नागेन्द्र साहले बताए । उनले भने, ‘गत वर्ष मल नपाएर धान उत्पादनमा कमी भयो, यस वर्ष पनि मल नपाउने सम्भावना बढेको छ ।’ 



जिल्लाको चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका किसानले हरेक वर्ष धान रोप्ने बेलामा युरिया मलका लागि तड्पनुपर्ने अवस्था रहेको वृन्दावन नगरपालिका १ का किसान रामलोचन राउतले गुनासो गरे । 

चन्द्रपुर नगरपालिकामा मात्र कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरबाट दिइएको मल बिक्रीका लागि २३ वटा सहकारीले डिलर सञ्चालन गरेको भए पनि मल अभाव भएको छ । एउटा डिलरलाई २० बोराका दरले मल दिने गरेको र त्यो मल एकैछिनमा सकिने गरेकाले समस्या भएको सन्तपुरमा रहेको दिव्यज्योति कृषि सहकारीका डिलर सञ्चालक राजन तिमल्सिनाको भनाइ छ । 

सीमावर्ती क्षेत्रका किसानले भारतबाट मल ल्याएर काम चलाउने गरेका छन् । सीमावर्ती क्षेत्रमा रहेका स्थानीय तह र सीमावर्ती क्षेत्रभन्दा ५० किमि उत्तर रहेका सहकारीलाई दामासायीका हिसाबले मल वितरण गर्दा चन्द्रपुर, गुजरा र वृन्दावन नगरक्षेत्रमा रहेका किसानले मलको समस्या झेल्नु परेको स्थानीय किसानको भनाइ छ ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार १८:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया