खाडी मुलुकहरूबीच झगडा, इन्धनको मूल्य बढ्यो

यो साता तेल उत्पादनको कोटाका विषयमा संसारका ठूला इन्धन उत्पादक देश संयुक्त अरब इमिरेट्स र साउदी अरबबीच मनमुटाव भयो । यसको असर सबै ठूला तेल बजारमा पर्न गयो । र, तेलको मूल्य ६ वर्षमा सबैभन्दा बढी माथि उक्ल्यो ।
 
रुससमेत संलग्न रहेको पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ‘ओपेक प्लस’ले वार्ता अनिश्चितकालका लागि स्थगित गर्यो । यसले यो समूहको स्थिरतामाथि आशंका बढाइदिएको छ । संयुक्त अरब एमिरेट्स(युएई)ले ओपेक प्लसका नेताहरु, साउदी अरब र रुसको प्रस्ताव खारेज गरिदिएपछि यो समस्या गत साता सुरु भयो । दुवै देशले अझै आठ महिना उत्पादनसम्बन्धी प्रतिबन्ध कायमै राख्ने प्रस्ताव राखेका थिए । 

तर, यूएई तेल उत्पादनको आफ्नो अहिलेको ‘आधार रेखा’माथि पुनः वार्ता गर्न चाहन्छ । उसले केही तेल उत्पादन गर्ने स्वतन्त्रता खोजेको छ । उता, साउदी र रुस भने यसविरुद्ध छन् । यो वार्ताले तब अनौठो मोड लियो, जब एकअर्काको नजिक ठानिएका साउदी र युएईका उर्जा मन्त्रीले मतभेदलाई खुलेर प्रस्तुत गरे । 

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका वरिष्ठ शोधकर्ता बेन काहिल यो टकराव अनौठो आश्चर्य मान्छन् । तर, यो झगडा अनिवार्य रहेको पनि उनको भनाइ छ ।

उनी भन्छन्, ‘आबुधाबीले ओपेकबाट पाएको कोटा उसको तेल उत्पादन क्षमताअनुसार छैन । युएईले आफ्नो तेल उत्पादन क्षमता वृद्धि गर्न सारा पैसा लगानी गरेको छ र अहिले माग पनि बढिरहेको छ । यही कारण पनि यूएई पछिल्ला वर्षहरुमा उत्पादन वृद्धि गर्न नसक्दा निराश छ ।’

दुई राजकुमार
थुप्रै वर्षदेखि, साउदी अरब र युएईबीचको साझेदारीले अरब जगतलाई आकार दिएको छ । साउदीका युवराज मोहम्मद बिन सलमान र युएईका युवराज मोहम्मद बिन जायद बीचको व्यक्तिगत सम्बन्धले दुवै देशको गठबन्धनलाई मजबुत पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । दुवै युवराज आआफ्नो देशमा वास्तविक शासकका रुपमा देखिन्छन् । र, आफ्नो देशलाई लिएर दुवैको एक महत्वाकांक्षी दृष्टिकोण छ । 

कयौँ वर्षसम्म, दुई देशबीच सामरिक मुद्दामा गम्भीर सहयोग रह्यो । उनीहरुले यमनमा इरान समर्थित हुथी विद्रोहीका विरुद्ध युद्ध लड्नका लागि २०१५ मा अरब सैन्य गठबन्धन गठन गरे र २०१७ मा कतारमाथि कूटनीतिक, व्यापारिक र यात्रामा प्रतिबन्ध लगाए ।



तर, ती देशहरुबीच खाडल दुई वर्षअघि देखियो, जब युएईले आफ्ना अधिकांश सैनिक यमनबाट फिर्ता लग्यो । यो कदमबाट साउदी रुष्ट थियो ।

युएईले जनवरीमा मन नलाग्दा नलाग्दै पनि कतारमाथि लागेको प्रतिबन्ध समाप्त गर्न साउदीको अगुवाइमा भएको वार्तामा सहमति जनायो । तर, उसलाई दोहामाथि अहिले पनि विश्वास छैन । यसैगरी, गत वर्ष इजरायलसँग सम्बन्ध सामान्य बनाउने युएईको निर्णयसँग साउदी बिलकुल उत्साही थिएन ।



बहुराष्ट्रिय कम्पनीहरुले सन् २०२४ सम्ममा आफ्नो मुख्यालय साउदी स्थानान्तरित गर्ने दुबईको निर्णयपछि फेबु्रअरीमा सम्बन्ध थप चिसियो । युएईले ओपेकमा भएको एक सम्झौताको विरोध गर्यो, जसको साउदी पक्षपाती थियो । उडानहरु निलम्बित हुन पुगे । साउदीले कतिपय वस्तु आयातमा प्रतिबन्ध लगाइदियो । यसबाट युएईको अर्थव्यवस्थामा झट्का लाग्यो ।

आर्थिक प्रतिस्पर्धा
ओपेकमा यी दुई देशबीचको टकरावले बढ्दो आर्थिक प्रतिद्वन्द्वितालाई स्पष्ट पार्छ । दुवै देश पेट्रेलियम पदार्थको निर्यातमा आफ्नो निर्भरता घटाएर, अर्थव्यवस्थालाई विविधता दिने प्रयासमा छन् । लन्डनको च्याटम हाउसका एसोसिएट फेलो निल क्विलियम भन्छन्, ‘साउदी अरब खाडीको सबैभन्दा ठूलो देश हो र ऊ अहिले जागेको छ । केही हदसम्म युएईका लागि यो चिन्ताको विषय हो । १५ देखि २० वर्षमा यदि साउदी अरब एक गतिशील अर्थव्यवस्थामा परिवर्तन भयो भने युएईको आर्थिक मोडेलमा खतरा उत्पन्न हुने छ ।’ 

अझै पनि साउदी र युएई नयाँ ओपेक सम्झौतामा सहमत हुने नहुने स्पष्ट छैन । यी कुराले दुई देशबीचको सम्बन्ध अधिक चिसिने अवस्था नरहेको कतिपय विश्लेषक बताउँछन् । उनीहरुका अनुसार, विगतमा दुवै पक्षबीच निकै ठूल्ठूला असहमति भइसकेका छन् । अमेरिका, बेलायतसहितका देशहरुसँगको सम्बन्धमा उतारचढाव आइसकेको छ । तर, दुई देशबीचको यो सम्बन्धको मूल तत्व गठबन्धनलाई हानि गर्ने कुराको तुलनामा निकै मजबुत छ ।

(बिबिसीबाट अनूदित )

  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १६:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया