काठमाडौंका अस्पतालमा कति छन् कोरोनाका बिरामी ?

अहिले अस्पतालमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । निषेधाज्ञा खुलेपछि देशभरका अस्पतालमा संक्रमितको संख्या बढेको छ । बिहीबार १२ हजार ७ सय ६८ जनामा गरिएको कोरोना परीक्षणमा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

काठमाडौं उपत्यकामा रहेका निजी तथा सरकारी अस्पतालहरु पनि पूर्ण रुपमा खाली भएका छैनन् । अस्पतालका आइसियूहरुमा अझै बिरामी छन् । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको बेलामा भएजति बिरामी नभएपनि अस्पतालमा बिरामीहरु भने रहिरहेका छन् । 

अस्पतालमा दैनिक कोभिडका बिरामीहरु आइरहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अझै पनि दैनिक १२ देखि १५ जना कोभिडका बिरामी आउने गरेका छन् । आइसियूमा २३ जना बिरामी रहेका छन् । जनरल वार्डमा २३ जना बिरामी छन् । 

अझै पनि बिरामी भने दैनिक आउने अवस्था रहेको टेकु अस्पतालका सूचना अधिकृत नवराज गौतमले बताए । उनले भने, ‘दैनिक १० देखि १२ जना बिरामी भर्ना भइरहेका छन् । पछिल्लो १० दिनको आँकडा यहि रहिआएको छ ।’ उनका अनुसार अस्पतालमा संक्रमित नआउने अवस्था अझै भएको छैन । 

अहिले सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा भने १ सय जना कोभिडका बिरामी उपचाररत छन् । २४ जना बिरामी आइसियूमा भर्ना भएका अस्पतालका सूचना प्रमुख डाक्टर प्रवीण नेपालले जानकारी दिएका छन् । अस्पतालमा ३० वटा आइसियू बेड रहेका छन् । जस मध्ये २४ वटा आइसियू बेडमा भने अझै पनि कोभिडकै बिरामी रहेका छन् । 

‘पिकमा पुगेको बेला आइसियू हामीले पूरै कोभिडको लागि भनेर राखेका थियौँ । अहिले कोभिडको लागि त्यति गाह्रो छैन, जसका कारण हामीले ६ देखि ७ वटा आइसियू बेड अन्य बिरामीको लागि छुट्याएका छौँ’, नेपालले भने । पहिले अस्पतालले २०० सम्मको कोभिड शैय्या चलाएको थियो । 



निजी अस्पतालमा सबैभन्दा बढी कोभिडको बिरामी राखेको मेडिसिटी अस्पतालमा अहिले १० जना सिकिस्त बिरामी आइसियूमा छन् । जम्मा बिरामी भने अहिले ३५ जना रहेका छन् । मेडिसिटी अस्पतालका जनरल म्यानेजर विजय रिमाल भन्छन्, ‘कोभिडको बिरामी दैनिक २ देखि ५ जना सम्म आउने अवस्था छ । पहिलेभन्दा निकै कम भएको हो । तर, बिरामी नै नआउने अवस्था भने होइन । बिरामी आइरहेका छन् ।’

काठमाडौंका अन्य अस्पतालहरु पनि पूर्ण रुपमा खाली भएका छैनन् । हाल काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार ४५८ जना रहेको छ । त्यस्तै, भक्तपुरमा १ हजार ६२ जना, ललितपुरमा १ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन् । 



  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार ६:२४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया