धनगढीमा डुबान समस्या विकराल बन्दै

वर्षायाम सुरु भएसँगै कैलालीको धनगढी उपमहानगरपालिकाको अधिंकाश भूभाग सधैं जलमग्न हुन्छ । उपमहानगरभित्रका खोलानाला अतिक्रमण भएपछि डुबान समस्याले बर्सेनि स्थानीय पीडित हुने गर्छन् । मुख्य रूपमा धनगढीका कैलाली नाला, सुकुटी नाला अतिक्रमणमा परेका छन् । अतिक्रमणका कारण यहाँका कतिपय खोलानाला नक्सामा समेत देखिँदैनन् ।

यी नालाहरूमा अतिक्रमण हुँदा मिलनचोक, रामजानकी टोल, विशालनगर, सरस्वती नगर, पार्क मोड, चटकपुर सबैभन्दा बढी डुबानमा पर्दै आएका छन् । पानी निकास हुने स-सना नालाहरू हराउँदै जाँदा डुबान बढेको धनगढी उपमहानगर-२ की धना बटाला बताउँछिन् । ‘दुई दशक अघिसम्म धेरै नाला खुल्ला थिए । पानी सहजै बहन्थ्यो । तर अहिले स-साना नालाहरू मात्र नभएर मुख्य भनिएको कैलाली नाला नै साँघुरिँदै जाँदा समस्या बढ्दै गएको छ ।’

 निकास अभावका कारण सडकमा क्षति पुगेको छ । सडकमा पानी बग्ने हुँदा अघिल्लो वर्ष निर्माण गरिएका सडकमा नै खाल्डाखुल्डी पर्दै आएको छ । पानी निकासकै लागि एक वडा र अर्को वडाबीच विवाद सिर्जना हुने गरेको छ । धनगढी उपमहानगरपालिका-४ रातोपुल भएर दक्षिणमा बहने नाला हराउँदै गएको छ । उक्त नाला विभिन्न व्यक्तिले अतिक्रमण गरी नालाको बीचमै घर निर्माण गरेका छन् । नालाको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने कानुनी व्यवस्था भए पनि बीचभागमै घर निर्माण गरिएका छन् । 

उपमहानगरको चटकपुर क्षेत्रको नाला पनि अतिक्रमणमा परेको छ । स्थानीयकै अग्रसरतामा अतिक्रमण क्षेत्र खाली गर्नका लागि समय-समयमा दबाब दिँदा समेत सुधार भएको छैन । यही कारण कतिपय स्थान डुबानमा परेको चटकपुरका बलबहादुर चन्द बताउँछन् । ‘चटकपुर क्षेत्र गहिरोमा पर्छ । त्यसमा नाला नै अतिक्रमण भएपछि डुबान समस्या बढेको छ,’ उनले भने । 

धनगढीमा नालामात्रै होइन, कतिपय कुलो र खोलासमेत अतिक्रमणको सिकार हुँदै आएका छन् । अतिक्रमण गर्नेलाई कारवाही नहुँदा बर्सेनि खोलानाला साँघुरिँदै र पुरिँदै गएको स्थानीयको गुनासो छ ।  ‘नाला अतिक्रमण हुँदा बस्ती डुबानामा पर्दै आएकाले हटाउन माग राख्दै आएका छौं,’ चटकपुरका स्थानीय शेरबहादुर धामीले भने, ‘अतिक्रमण रोक्नु त कहाँ हो कहाँ, उजुरीको सुनुवाइ पनि भएको छैन ।’

२०२१ सालको साबिकको तारानगर-१ को नक्साअनुसार उक्त नाला कैलाली गाउँदेखि मोहना नदीसम्म पुगेको छ । बोराडाँडीदेखि श्रीकेदार टोलसम्म कुलोको केही अवशेष रहे पनि अन्य क्षेत्रमा पूरै अतिक्रमण भइसकेको छ । राष्ट्र बैंक चोकनजिक रहेको पुलवरपर बढी अतिक्रमण भएको छ । सुकुटी नालाको बीच भागमा घर निर्माण भएको छ । ‘पुल निर्माण हुनुअघि खोला क्षेत्र सानो थियो,’ घर धनी खुसीराम चौधरीले भने, ‘पुल बनेपछि पारिबाट आफ्नो क्षेत्रतर्फ बढी च्याप्दा बीच भागमा घर बन्न सहज भएको हो ।’ सुकुटी नालाको हसनपुर क्षेत्रदेखि उत्तर बेहडीसम्म व्यक्तिगत र संस्थागत ढंगमा नै अतिक्रमण भएको छ ।



बसपार्क पछाडिबाट बग्ने नाला बिस्तारै हराउँदै गएको छ । नालामाथि नै ठूूल्ठूला घर निर्माण भएका छन् । एक दशक अगाडिसम्म सहजै पानी बग्ने उक्त नालामा अहिले कुनै ठाउँ ५ मिटर पनि नभएको स्थानीय सन्तोष बोहराले बताए । ‘बस्ती बाक्लो भएको छ । नालाको क्षेत्रफल घट्दै गएको छ । पानीको निकास नहुँदा बर्खामा घरभित्र पस्ने गरेको छ,’ उनले भने, ‘समाजका उच्च पदस्थ व्यक्तिहरुले नाला मिचेर घर बनाएको देखिएको छ । कसलाई दोष दिने हो ?’ उपमहानगरका अनुसार खोलाको चौडाई १० मिटर, कुलोको ५ मिटर नदीको १० मिटरभन्दा बढी रहने व्यवस्था छ ।

अहिले पनि खोलानालामा जग्गाको लालपुर्जा छ भन्दै व्यक्तिले बाँध बाँध्न छाडेका छैनन् । विगतमा नगर विकास समितिले जग्गा वितरण गर्दा ध्यान दिन नसक्दा समस्या आएको हो । खोलानालामा पर्ने जग्गा पनि व्यक्तिको नाममा लगिएकाले अतिक्रमण हटाउन समस्या भइरहेको नगरप्रमुख नृपबहादुर वड स्वीकार्छन् । तर, उनले त्यस्ता जग्गाको लालपुर्जा खारेज गरेर भए पनि अतिक्रमण हटाउने बाचा गरेको लामो समय भइसकेको छ । 



पानी निकासको विषयमा विवाद  

धनगढी उपमहानगरपालिकामा पानी निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षामा जमेको पानी निकासको विषयमा विवाद भएको हो । सोमबार पानी निकास नभएको भन्दै विवाद बढेपछि प्रहरीले बल प्रयोग गरेर नाला खुलाएको छ । नाला खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । नाला खुलाउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

शनिबार रातिदेखि भइरहेको वर्षापछि जम्मा भएको पानी वडा नम्बर ३ बाट २ तर्फ बगिरहेको र त्यसबाट डुबान हुन थालेको भन्दै विवाद सिर्जना भएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वडा नम्बर २ का स्थानीयले पानीको बहाव रोकेपछि विद्युत् प्राधिकरण र घरहरु डुबानमा पर्न थालेको र त्यसलाई खोलाउन खोज्दा विवाद भएको बताए । नाला भएको ठाउँमा स्थानीयले कल्र्भट तयार गरेका छन् । केही ठाउँमा कल्र्भटको मुखमा घर निर्माण गरिएका छन् ।

कागजमै सीमित अतिक्रमण हटाउने अभियान

२०७४ असार २६ गते जनप्रतिनिधिहरूको पहिलो बैठकले नगरभित्रका खोलानाला, सरकारी तथा सार्वजनिक, ऐलानी पर्ती जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गर्‍याे । उपमहानगरपालिका प्रमुख र अन्य पदमा बहालीपछिको पहिलो बैठकमा नै धनगढी उपमहानगरपालिका क्षेत्रमा रहेका सरकारी, सार्वजनिक ऐलानी जग्गा तथा खोलानाला छेउछाउमा बनेको संरचना हटाउने निर्णय गरिएको थियो । 

पहिलो निर्णयको चार वर्ष पूरा भइसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । चौतर्फी दबाबपछि वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीको संयोजकत्वमा एक समिति गठन पनि गरियो । समितिलाई अतिक्रमित सार्वजनिक जग्गाको प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो । समितिले तयार पारेको प्रतिवेदन अहिलेसम्म दराजमै थन्किएको छ ।

समितिले वडा नम्बर ४ र ५ मा पर्ने सुकुटी नालाको मोहनादेखि हसनपुर सामुदायिक प्रहरीसम्मको क्षेत्रमा ३७ जनाले खोला अतिक्रमण गरेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको दुई वर्ष बितिसकेको छ । तर, खोलानालामा गरिएको अतिक्रमण कायमै छ । 
 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १६:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया