सोपान ग्याँस कम्पनीलाई कारबाही गर्न माग

श्री बिआइटी उद्योगले ललितपुरस्थित सोपान फर्मास्युटिकल लिमिटेडले नाइट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै कारबाहीको माग गरेको छ । 

श्री बिआइटी उद्योगले नाइट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौँ रुपैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र क्रन्जी ड्यामेज भएको आरोप लगाउँदै सो ग्याँस उद्योगमाथि तत्काल छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेको हो । 

उद्योगी कमल सिंहले सोपानले आफूहरुमाथि ठगि गरेको तथा जनताको स्वास्थ्यमाथि खेलबाड गरेको उल्लेख गर्दै छानबिन गरी कारबाही गर्नुपर्ने बताए । उनले मानव जीवनको स्वास्थ्य माथि खेलबाड गर्ने कम्पनीलाई कारबाही नभएर आमरण अनसन बस्ने चेतावनी समेत दिए । दोषिमाथि कारबाही गर्न आफूहरुले सम्बन्धित निकायमा उजूरी दिएपनि सुनुवाइ नभएको उनको गुनासो छ ।

उनले भने, ‘जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा उजुरी पर्दा सरकारी निकायले तत्काल सुनुवाइ गर्नुपर्दथ्यो । छानबिन गरी दोषी कम्पनीमाथि कारबाही हुनुपर्दथ्यो । तर, यस्तो संवेदनशील विषयमा कुनै पनि सरकारी निकायले चासो दिएको छैन । यो मेरो मात्रै समस्या होइन’, उद्योगी सिंहले भने, ‘सो ग्याँस कम्पनीमाथि तत्काल छानबिन गरी कारबाही गर्नुप¥यो । जनताको स्वास्थ्य माथि नै खेलबाड गर्ने यस्ता कम्पनीमाथि छानबिन गरी कारबाही नभए आमरण अनसन बस्न र आवश्यक परे मर्न तयार छु ।’

उद्योगी सिंहका अनुसार आलु चिप्स बिग्रन नदिन नाइट्रोजन ग्याँस राखेर प्याकिङ गरिन्छ । तर, सो कम्पनीले नाइट्रोजन भनेर अक्सिजन ग्याँस दिएकाले आफूले करोडौँको क्षति व्यहोर्नु परेको दाबी सिंहले गरे । 

कम्पनीले आपूmलाई दिएको ग्याँस सिलिन्डरमै अक्सिजन ग्याँस सानो अक्षरमा लेखेकाले पनि सो ग्यास नाइट्रोजन नभई अक्सिजन भएको उनको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभागमा समेत गएर सोध्दा सो ग्याँस अक्सिजन नै भएको पुष्टि भएको दाबी गरे । 



‘नाइट्रोजनको बिल दिएर अक्सिजन ग्याँस दिँदा आफूहरुको आलु चिप्स ओसिएर करोडौं मूल्य नोक्सान भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग गएर सोध्दा समेत सो ग्यास अक्सिजन भएको पुष्टि हुन्छ । त्यस सम्बन्धमा उजूरी गर्न जाँदा महानगरीय प्रहरी परिसरले सुनुवाई नै गरेन’, सिंहले भने ।

ग्याँस कम्पनी सोपानले पठाएको सिलिन्डरमा सानो अक्षरमा अक्सिजन लेखिएको उद्योगको दाबी छ । उद्योगी सिंहले आफूहरुसँग प्रमाणको लागि सो सिलिन्डर सुरक्षित रहेको स्पष्ट पारे । 



जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ग्याँस जस्तो संवेदनशील विषयमा सो ग्याँस कम्पनी संवेदनशील नदेखिएको सो उद्योगको दाबी छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत महानगरीय प्रहरी परिसरलाई अनुसन्धानका लागि पत्राचार गर्दा पनि सुनुवाई नभएको उद्योगको गुनासो छ । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया