सडकमा सार्वजनिक यातायात र ट्याक्सी तेर्स्याएर महासंघको प्रदर्शन
सरकारलाई बुझाएको सातबुँदे माग सम्बोधन नभएको गुनासो

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई बुझाएको सातबुँदे माग सम्बोधन नभएको भन्दै सार्वजनिक यातायात महासंघले प्रदर्शन गरेको छ । काठमाडौंमा बिहीबार सार्वजनिक यातायात र ट्याक्सीहरु सडकमा तेस्र्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो ।

महासंघले कोभिड खोप उपलब्ध गराउन, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्न, यातायातको बिमा छुट गर्न र सडक कानून लागू गर्ने माग गर्दै सांकेतिक प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासंघको सांकेतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताए । उनले सांकेतिक आन्दोलनबाट नसम्झिए सडकमै सवारीसाधन छाडेर हिँड्नुपर्ने दिन नआओस् भन्दै सरकारलाई चेतावनी समेत दिए । 

‘शान्तिपूर्ण रुपमा सबै सवारीसाधन घर र ग्यारेजबाट निकालेर सरकारलाई सातबुँदे मागको ध्यानाकर्षण गराउनका निम्ति सवारी निकालेका छौँ, २० वर्ष पुगेकै नाउँमा सवारीसाधन फ्याँकिनु हुँदैन,’ उनले भने, ‘वैज्ञानिक नीति र यान्त्रिक चेकजाँच गरेर मात्रै ठीक भए चलाउने र बिग्रिएको भए फाल्नुपर्छ, यो आन्दोलनलाई नसम्झिए सडकमै सवारी छोडेर जान्छौँ, यो कुरा सरकारले बेलैमा सोचोस् ।’

वैज्ञानिक किसिमले सवारीसाधनको आयु तय गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले आफ्ना सबै माग यथाशीघ्र सरकारले सुनुवाइ गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १७:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया