जनसंख्या नबढाई नहुने अवस्थामा चीन

एकातिर भारत जनसंख्या नियन्त्रणका लागि अनेक उपाय सोचिरहेको छ भने अर्कोतिर चीन यसका कारण उत्पन्न समस्यासँग जुधिरहेको छ । चीन संसारका ती थोरै देशहरुमध्ये एक हो, जहाँ जन्मदर अत्यन्तै कम छ ।

अहिलेको अवस्थामा चीनमा काम गर्न सक्ने नागरिकको निरन्तर कमी हुँदै गएको छ, यो नै उक्त देशको ठूलो चुनौती बनिरहेको छ । कम हुँदै गएको बलिया पाखुरीका कारण त्यहाँका युवामा निकै दबाब छ । ती युवामा आफ्ना माता-पिताका साथै हजुरबुवा-हजुरआमामात्रै नभई कुप्रा हजुरबुवा-आमाको देखभाल गर्नुपर्ने जिम्मेवारी छ । एक नयाँ आकलनका अनुसार आगामी पाँच वर्षमा चीनको एकचौथाइ आवादीको उमेर ६५ वर्षभन्दा माथि हुने छ । यसले काम गर्न सक्ने पाखुरी अभाव त गराउने छ नै साथमा गरिबीको समस्या वृद्धि गरिदिने छ ।

यो समस्यासँग जुध्नका लागि चीनले १९८० मा लिएको ‘वान चाइल्ड पोलिसी’ परिवर्तन गर्दै ‘टु चाइल्ड पोलिसी’ लागू गर्यो, तर पनि जन्मदर घटिरह्यो । त्यसको पाँच वर्षपछि त्यहाँ ‘थ्री चाइल्ड पोलिसी’ लागू गरिएको छ । तर, मानिसहरुमा बढ्दो महँगीको अवस्थामा ठूलो परिवार कसरी पाल्नु भन्ने चिन्ता चुलिएको छ ।

चीनको यो समस्याबाट जन्मदर घटाउने अभियानमा लागेको संसारका अन्य मुलुकलाई शिक्षा मिल्ने छ । घट्दो जन्मदरले कुनै देशलाई कसरी समस्यामा पार्दो रहेछ भन्ने उदाहरण चीन बन्न पुगेको छ । के चीनले आफ्नो जनसंख्या बढाउन सक्ला ?

‘वान चाइल्ड पोलिसी’ किन लियो चीनले ?
१९५० को समयमा चीनलगायतका केही मुलुकमा नागरिकको स्वास्थ्य सुविधा राम्रो बन्दै गएको थियो र आवादी अचानक बढ्दै थियो । नतिजा के भइदियो भने, १९७० मा पुग्दा चीनको जनसंख्या अर्ब पुग्यो । 

पत्रकार-लेखिका मेई फाङ भन्छिन्, ‘त्यो समयमा जनसंख्या नियन्त्रणका लागि कम्युनिस्ट पार्टीका नेता देङ जियाओ पेङले परिवार नियोजनबारे कडा निर्णय गर्दै वान चाइल्ड पोलिसी लागू गरिदिए ।’ त्यो बेला चीनमा गरिबी अधिक थियो । चीनलगायत संसारका कतिपय देश जनसंख्या वृद्धिबाट चिन्तित थिए । आवादीको अनुपातमा भविष्यमा संसाधन कम हुने देखेर चीनमा जनसंख्या नियन्त्रणको धारणा अघि सारिएको फाङ बताउँछिन् ।



अरु मुलुकको तुलनामा चीनको चुनौती अधिक गम्भीर थियो । दुई दशकअघि नै चीनमा ‘ग्रेट लिप फरवार्ड’ सुरु गरिएको थियो । आर्थिक सुधारको यो नीति लागू भए पनि त्यहाँ खान नपाएर लाखौंको ज्यान गयो । इतिहासमा यसलाई सबैभन्दा भयंकर मानवकृत सर्वनाश मानिन्छ ।

चीनसामु आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान राख्नु र खानेकुरा उपलब्ध गराउनु अहम् जिम्मेवारी थियो । यस्तो अवस्थमा जनसंख्या नियन्त्रणको निर्णय आउनु उचित थियो । आवादी नियन्त्रणका लागि देङले थुप्रैखाले कदम चाले ।



पत्रकार फाङ भन्छिन्, ‘एकभन्दा बढी सन्तान जन्माउनेलाई जरिवाना गरिन्थ्यो, नतिर्नेको सम्पत्ति नै नष्ट गरिन्थ्यो । मानिसहरुको जागिर खोसिन्थ्यो र सामाजिक बहिष्कारसमेत हुन्थ्यो । यतिमात्र होइन, बच्चाले समेत सजायँ भोग्नुपथ्र्यो । तिनले विद्यालय पढ्न पाउँदैनथे, कहिलेकाहीँ त तिनको जन्मदर्ता पनि हुँदैनथ्यो ।’

वान चाइल्ड पोलिसी लागू गरिएपछि ठूल्ठूला ‘नसबन्दी’ अभियान नै चलाइयो । कतिपय महिलाको जबर्जस्ती गर्भपतन गरियो । यसले मानिसमा डर फैलियो ।
यो अभियानपश्चात् चीनमा लिंगअनुपात पनि असन्तुलित हुँदै गयो । मानिसहरु एकमात्र सन्तान हुन्छ यदि भने त्यो छोरा नै हुनुपर्ने मनोविज्ञान बढ्दै गयो । 

फाङ भन्छिन्, ‘गर्भपतन गराउन सहज भयो र मानिसहरुलाई बच्चा छान्ने मौका मिल्यो । त्यहाँको पितृसत्तात्मक समाजले पुत्र बढी चाहँदै गयो र केटीको संख्या घट्दै गयो । विस्तारै चीनमा अविवाहित पुरुषको संख्या बढ्यो । तिनले जीवनमा कहिल्यै विवाह गर्नका लागि केटी नपाउने अवस्था बन्यो ।’

कम जन्मदरले युवावर्गमा मानसिक समस्या पैदा गरिदियो । वान चाइल्ड पोलिसीको सुरुमा बच्चालाई परिवारका सबै सदस्यबाट माया मिल्थ्यो, तर पोलिसी आएको २० वर्षपछि अवस्था उल्टो हुन पुग्यो ।

उनी भन्छिन्, ‘बच्चा यस्तो प्राणी बन्दै गयो, जसमाथि भविष्यमा आमा-बुवा, हजुरआमा-हजुरबुवा र कुप्रो हजुरबुवा-कुप्री हजुरआमाको पालनपोषणको भार बढ्यो । तर, त्यसो गर्नका निम्ति सामाजिक व्यवस्था अनुकूल बनिसकेको थिएन ।’

निश्चित रुपमा चीनका लागि वान चाइल्ड पोलिसीसँग जुध्न सहज थिएन । त्यस नीतिलाई बदल्न पनि गाह्रो थियो । तर, २०१६ मा चीनले वान चाइल्ड पोलिसी अन्त्य गर्दै टु चाइल्ड पोलिसी लागू गर्यो । त्यसबेलासम्म चिनियाँ नागरिक दुई होइन एकमात्रै बच्चा चाहने अवस्थामा पुगिसकेका थिए ।

जनसंख्या नीतिले बिगारेको आँकडा
टु चाइल्ड पोलिसी अंगिकार गरेको केही वर्ष त जनसंख्या बढ्यो पनि । तर, पाँच वर्षपछि अर्थात् २०२० सम्ममा जनसंख्या गिरावट देखिन थाल्यो । औसत जन्मदर प्रतिपरिवार १.३ सम्म पुग्यो । अधिकांश महिला दुई बच्चा पाउन र पाल्न आर्थिक तथा मानसिक रुपमै तयार थिएनन् । 

लन्डनस्थित सोआस चाइना इन्स्टिच्युटका डेपुटी डाइरेक्टर जेयू लिउका अनुसार, वान चाइल्ड पोलिसीको असर चीनका सहरहरुमा बढी पर्यो । उनी भन्छिन्, ‘ग्रामीण क्षेत्रमा बस्ने मानिसको पहिलो सन्तान यदि छोरी भएमा दोस्रो सन्तान पाउने अधिकार दिइयो, तर सहरमा भने एक बच्चाको आदत बनिसकेको थियो ।’

महँगी थाम्न समस्या
टु चाइल्ड पोलिसी असफल हुनुको मुख्य कारण महँगी थियो । सहरमा प्रतिव्यक्ति औसत मासिक आय आठ हजार येन थियो भने, एक बच्चालाई नर्सरीमा पढाउन मासिक तीन हजार येन लाग्थ्यो । बच्चालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन थप शुल्क बुझाउनुपर्थ्यो । 

परिवारको एक सन्तानको भविष्य उज्ज्वल पार्न निकै लगानी गर्नुपथ्र्यो । विवाह गर्नका लागि योग्य बनाउने उद्देश्यमा छोरामा निकै लगानी गर्ने चलन थियो, किनकि चीनमा वान चाइल्ड पोलिसीका कारण केटीको संख्या निकै कम हुन गएको थियो ।

परिवार चलाउन महिलाको भूमिका अहम् थियो । तर श्रमबजारमा महिलामाथिको भेदभाव अधिक थियो । खासगरी महिलाका दुई बच्चा भए भने मेटर्निटी लिभ र कतिपय खर्च कम्पनीले दिनुपथ्र्यो । 

लिउका अनुसार चीनमा दम्पतीलाई अधिक सन्तान उत्पादन गर्न प्रोत्साहन गरिनुपर्छ । यसो गर्नका लागि चीन सरकारले नागरिकलाई सहयोग दिनुपर्छ । त्यसो चाहिँ गर्छ कि गर्दैन भन्ने कुरा यसै भन्न नसकिने लिउ बताउँछिन् ।

जनसंख्या बढाउने सवालमा चीन सरकारले मद्दत गर्नेबारे केही बोलेको छैन । थ्री चाइल्ड पोलिसी कसरी अगाडि बढ्ला भन्नेबारे अहिले नै केही भन्न सकिँदैन । 

कतिपयले चीनले जनसंख्या वृद्धिबाट हुने काम प्रविधिबाटै किन गर्न सक्दैन भन्दै प्रश्न पनि गरेका छन् । तर चिनियाँ अर्थव्यवस्था लेबर इन्टेन्सिभ छ, जसलाई छोटो समयमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबाटेजस्ता हाइटेक तरिकबाट परिवर्तन गर्न सकिँदैन ।

चीनमा जनसंख्याको समस्या छ, तर त्यसको समाधानका लागि त्यो देशले अपनाएको उपाय निकै परम्परावादी रहेको टिप्पणी गर्ने पनि थुप्रै छन् । बच्चा धेरै जन्माउ भनेर सरकारले आदेश दिँदैमा त्यो सफल हुने होइन । समस्या समाधानका लागि सरकारले धेरै काम गर्नुपर्ने छ । शिक्षा, स्वास्थ्यमा सहज पहुँचका साथै सस्तो घरको व्यवस्था गर्नुपर्ने हुन्छ । के यी सबै काम चीन सरकारले गर्ला ? (बिबिसीमा आधारित)

  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १६:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया