‘वायु सेवा निगम सुधारका लागि उच्च स्तरीय समिति आवश्यक’

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनका सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । 
    
शुक्रवार मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका दिए । 

अर्थमन्त्रीले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुका साथै निगमको नियमित कामकाज संचालन गर्नुपर्नेमा जोड दिए। निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ थियो ।
    
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनीतिक नेतृत्वको आवश्यक रहेको औंल्याए । 

सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम उभो नलाग्ने भन्दै उनीहरुले राजनीतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताए । 

छलफलमा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले नेपाल एयरलाईन्सको वर्तमान अवस्था र भावी रणनीतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरे । उनले राजनीतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताए । 

निगम हाल ५० अर्ब ऋण तथा ११ अब सञ्चित नोक्सानीमा रहेको पौडेलले जानकारी दिए । उनले साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताए । 

विश्वका विभिन्न एयरलाईन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको उनको भनाई छ । 



उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे । 

छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा.सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी थिए ।



  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १५:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया