मनास्लु हिमाल आरोहण सिजन सुरु, पाँच समूहका ५२ जनाले पाए अनुमति

संसारको आठौं अग्लो हिमाल मनास्लु (८,१५६  मिटर) आरोहणको सिजन सुरु भएको छ । हालसम्म यस सिजनमा मनास्लु आरोहणको लागि पाँच वटा समूहका ५२ जना आरोहीले अनुमति लिएका छन् । 

विदेशी आरोहीहरू काठमाडौं आएर सात दिने क्वारेन्टिनमा बसेको पर्यटन विभागले जनाएको छ । क्वारेन्टिनको अवधि सकिएपछि उनीहरु आरोहणको लागि प्रस्थान गर्ने जनाइएको छ । 

यस वर्ष आरोहणको लागि अनुमति लिनेबाट ५६ करोड २ हजार १८५ रुपैयाँ राजस्व उठेको विभागले जानकारी दिएको छ । 

शरद ऋतुमा नेपाल आउने विदेशी पर्यटक विशेषगरी मनास्लु आरोहण र हिमालय क्षेत्र पदयात्राका लागि आउने गर्छन् । यति बेला नेपालका अन्य हिमाल आरोहणको लागि भने उपयुक्त समय मानिँदैन । 

सन १९५६ को सुरुवातदेखि नै यो सिजनमा मनास्लु क्षेत्रमा पदयात्रा र आरोहण गर्न विदेशी पर्यटक आउने गरेको पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले जानकारी दिए । 

‘कोभिड–१९ न्युनिकरण तथा नियन्त्रणका लागि सरकारले तय गरेको प्रोटोकल पालना गरी शरद ऋतुका लागि मनास्लु आरोहण अनुमति पत्र खुल्ला गरेका छौं,‘ महानिर्देशक तामाङले फरकधारसँग भने, ‘कोभिडका कारण ठूलो संख्यामा पर्यटकीय गतिविधि गर्न सहज छैन । यसकारण आवश्यक प्रक्रिया पुर्याएर यो सिजनमा हिमाल आरोहण खुल्ला गरेका छौं ।’  



उनका अनुसार अहिले मनास्लु आरोहणका लागि विभिन्न मुलुकका विदेशी नागरिकले नेपाली कम्पनी मार्फत अनुमति पत्र लिइरहेका छन् । विभागको तथ्यांक अनुसार अहिले पाँच वटा टिमले आरोहणका लागि अनुमति पत्र लिएका छन् । 

सबैभन्दा पहिलो आरोहण अनुमति पत्र लिने समूहमा १० जना पुरुष र ५ जना महिला रहेका छन् । यसै गरी दोश्रो अनुमति पत्र लिने समूहमा सबै १० जना सदस्यहरु पुरुष रहेका छन । अनुमति पत्र लिएका अन्य ४ वटा बेग्ला बेग्लै समूहका तर्फबाट ४३ जना पुरुष र ९ जना महिला गरी कूल ५२ जना रहेका छन् ।  



‘गोरखा जिल्लामा अवस्थित मनास्लु हिमाल आरोहणका लागि शरद ऋतुलाई मुख्य सिजनको रुपमा हेर्ने गरिन्छ,’ नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङले भने, ‘यो सिजन अन्य सिजनभन्दा रमाइलो सिजन पनि हो । यसकारण विदेशीहरुले यही सिजनका लागि नेपाल आउने र मनास्लु आरोहण गर्ने योजना बनाएका हुन्छन् ।’ 

सन १९५६ मा जापानी आरोही तासिओ ईमानिसी र ग्लाल्जेन नोर्बुले पहिलो पटक मनास्लु हिमालको आरोहण गरेका थिए । सोही समयदेखि अन्तर्राष्ट्रिय पर्वतीय साहसिक पर्यटन क्षेत्रमा मनास्लु हिमालको चर्चा हुने गरेको संघका महासचिव गुरुङको भनाई छ ।  

स्नोई होराइजन ट्रेक्स एक्सपेडिसनका प्रालिका अध्यक्ष बोधराज भण्डारीले यो सिजन सेप्टेम्बर पहिलो सातासँगै सुरु भएको बताए । मनास्लु आरोहणको यो सिजन अक्टोबर दोस्रो हप्ता सकिने उनले जानकारी दिए । 

विभागका अनुसार अहिलेसम्म विभिन्न मुलुकका २२३० जनाले मनास्लु आरोहण गरेका छन् ।  

विदेशीबाट प्रति व्यक्ति ९ सय डलर रोयल्टी 

एक जना विदेशी नागरिकले मनास्लु आरोहणका लागि ९ सय डलर रुपैयाँ रोयल्टी तिर्नु पर्ने प्रावधान छ ।  यस सिजनमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिने विदेशीमा डेनमार्क, क्यानडा, नेदरल्याण्ड, चेक रिपब्लिक, सुइडेन, नर्वे, जापान, संयुक्त राज्य अमेरिका लगायतका मुलुकका नागरिक रहेको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडीसनका प्रबन्ध निर्देशक मिग्मा ग्याल्जे शेर्पाले बताए । 

७ दिन होटल क्वारेन्टाइनमा 

कोरोना महामारीका कारण नेपालले विदेशीलाई हिमाल आरोहण वा पदयात्रामा जानुअघि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनिवार्य गरेको छ । नेपाल आउनु ७२ घण्टा अघि विदेशीले पीसीआर गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । 

गत वर्ष शरदयाममा विभागले ६ हजारदेखि ८ हजार माथिका ७ वटा हिमालका लागि ५८ जनालाई अनुमति दिएको थियो । जसमा ९ जना नेपाली थिए । नेपालले वसन्त, शरद र हिउँद/ग्रीष्म गरी तीन सिजन हिमाल आरोहण सञ्चालन गर्छ ।  

वसन्तकालीन सबैभन्दा बढी र हिउँद÷ग्रीष्ममा सबैभन्दा कम रोयल्टी बुझाउनु पर्छ । शरदकालीन हिमाल आरोहण सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म चल्छ । यो सिजनमा नेपालमा हिमाल आरोहणको दाँजोमा पदयात्रा अत्याधिक हुने गर्छ । 

विदेशी पर्यटकको खर्च  

सार्क राष्ट्रभन्दा बाहिरको पर्यटकले नेपालमा एक पटकको बसाइमा कम्तिमा ११ देखि १५ लाख खर्च गर्ने गरेको पाइन्छ । होटल बसाई, कम्पनी सेवा शुल्क, हिमालको रोयल्टी,  ट्राभल लगायतमा उक्त खर्च गर्ने गरेको पर्यटन व्यवसायी बोधराज भण्डारीले बताए । उनका अनुसार विदेशी पर्यटकको प्लेन भाडा सहित अन्य खर्च जोड्दा नेपालमा २० लाख खर्च गर्ने गरेका छन् । 

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १६:३७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया