विराटनगरका प्रहरी हिरासतमा एकजनाको मृत्यु भएको छ । हिरासतमा रहेका बेला विराटनगरका भीम कामतको मृत्यु भएको हो ।
गाँजासहित पक्राउ परेका कामतको प्रहरी हिरासतमा मृत्यु भएपछि घटनालाई रहस्यमय भन्दै आफन्तले छानबिनको माग गरेका छन् ।
शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित उनी पक्राउ परेका थिए ।
पक्राउ परेका कामत जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए । लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारीमा प्रहरी थियो ।
प्रहरीले हिरासतबाट अदालत लैजानका लागि बाहिर निकाल्दा उनी ढलेका थिए । रिंगटा लाग्यो भन्दै ढलेका उनलाई अस्पतालमा पुर्याएको केहीबेरमा चिकित्सकले मृत घोषित गरेका थिए ।
मृतकका भाइ वीरेन्द्र कामतले दाजुको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गरिनुपर्ने बताएका छन् ।
हिरासतमा रहेका कामतको मृत्युपछि कोशी अस्पताल परिसरमा आफन्त र छिमेकी विरोधमा उत्रिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।