किसानका समस्या समाधान गर्न ज्ञापनपत्र

किसानहरूको समस्या समाधान गर्न आइटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरूले राखेका बुँदागत मागहरू पूरा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।

किसानहरूका तर्फबाट प्रदेश-२ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्टराईलाई सो पत्र बुझाएका हुन् । 

किसानहरूको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै गत बुधबार किसानहरूले रौतहटमा प्रदर्शन गरेका थिए । नेपाल कृषिप्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरू मर्कामा परेको किसानहरूको आरोप छ।

सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार ट्याक्टरसहित किसानहरू सडकमा उत्रिएका थिए । धानबालीको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरूले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । 

रौतहटका बजारहरूमा युरिया मलको अभाव भएपछि भारतीय बजारबाट खेतीका लागि मलखाद ल्याउँदा सीमानामा सुरक्षाकर्मीले खोसेपछि खेती गर्न समस्या भएको किसानको गुनासो छ । 

किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध , पर्याप्त मलखाद बिउ बिजनको तुरुन्त व्यवस्था , भूमिहीनलाई जग्गा र किसानहरूलाई आधुनिक कृषि औजारको व्यवस्थाको माग गर्दै आइटी आर्मी किसान मोर्चाले आज ज्ञापन पत्र बुझाएको हो ।



जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरबारमा जाने पूर्व सांसद कुशवाहाले बताए । छिटोभन्दा छिटो किसानहरूको माग पूरा नभए किसानहरू सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले बताए ।

नेपाल सरकारले पर्याप्त मात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउँदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा किसान पीडित भएका छन् । 



समयमा पानी नपर्ने, बाली लगाएपछि बाढी आउने, बाली हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋणमा झन्झट गर्ने तथा कृषियन्त्रहरू समेत महंगाेमा खरिद गर्नु पर्ने अवस्थाका कारण कयौं किसानहरूले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन् ।

किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई अवगत गराउन आन्दोलनमा उत्रिएको प्रदेश सभा सदस्य कुशवाहाले बताए ।

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ११:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया