काडिजसँग बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली काडिजसँग गोलरहित बराबरी खेलेको छ ।

काडिजलाई दबाबमा राखे पनि फिनिसिङमा चुुक्दा बार्सिलोना अंक बाँड्न बाध्य बन्यो । घरेलु टोलीले पनि पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको ३० औं मिनेटमा लुक डि जोङको फ्रिकिक पासलाई मेम्फिस डिपाएले प्रहार गरेपनि कार्डिजका गोलरक्षक जेरेमिएस लिडेस्माले बचाउँदा बार्सिलोना अग्रता लिनबाट चुक्यो । 

४६ औं मिनेटमा अल्भारो नेग्रडोको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क टेर स्टेगनले बचाउँदै टोलीको खतरालाई टारे । 

५२ औं मिनेटमा डिपाएको प्रहारमा गोलरक्षक लिडेस्मा नै बाधक बन्दा बार्सिलोनाले खेलमा अग्रता लिन सकेन । 

फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना ६५ औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । 



७५ औं मिनेटमा अलफन्सो स्पिनोको क्रसमा रुवेन सोब्रिनोको प्रहार क्रस बारमा लागेर बाहिरिदा घरेलु टोली काडिज अग्रता लिनबाट चुक्यो ।

बराबरीसँग लिगमा अपराजित बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौं स्थानमा  रहँदा काडिज ६ अंकसहित १४ औं स्थानमा छ ।



यो नतिजासँगै बार्सिलोनाले काडिजविरुद्ध लगातार तीन खेलमा जित निकाल्न  असफल रह्यो । 

गत सिजन मात्रै शीर्ष डिभिजनमा बढुवा भएको काडिजले बार्सिलोनालाई पहिलो खेलमा २-१ ले पराजित गर्दा दोस्रो खेलमा १-१ गोलको बराबरी खेलेको थियो ।

लिग अन्तर्गत बिहीबार नै भएका अन्य खेलमा ग्रानाडा रियल सोसिडाडसँग ३-२ तथा ओसासुना रियल बेटिससँग ३-१ ले पराजित भए । 

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार ८:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया