लगातारको वर्षाले अन्योलमा इपिएलको भविष्य

अहिले त्रिवि क्रिकेट मैदानमा नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटको चौथो संस्करण चलिरहेको छ । 

शनिबारबाट सुरु भएको लिगमा निरन्तर वर्षा बाधक बन्दा दर्शकले यसको आनन्द लिन भने पाइरहेका छैनन् । प्रतियोगितमा हालसम्म २ खेलमा मात्र नतिजा निस्किएको छ । लिगको उद्घाटन खेलमा काठमाडौं किंग्स-११ ले साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गर्‍यो ।

आइतबारको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्समाथि २ विकेटको रोमाञ्चक जित हात पार्‍यो । आइतबारको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच खेल चिलिरहेको थियो । 

टस जितेर ब्याटिङ गरिरहेको पोखराले १०.१ ओभरमा ६५ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि खेल रोकियो । म्याच पुनः सुरु हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडे । त्यसपछिका ३ खेल भने टससमेत हुन नपाइ स्थगित भएका छन् । 

काठमाडौँ किंग्स-११ र विराटनगरबीच सोमबार बिहान साढे ९ बजेका लागि तय भएको पहिलो खेल आइतबारको वर्षाका कारण मैदान हिलाम्य भएकाले टससमेत हुन नपाइ स्थगित भयो ।

वर्षाका कारण सोमबार दिउँसो साढे १ बजेका लागि तय भएको भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेलमा पनि टस हुन पाएन । सोमबारको वर्षाका कारण मंगलबार मध्यान्ह सवा १२ बजेका लागि तय भएको  काठमाडौँ किंग्स-११ र पोखरा राइनोजविरुद्धको खेल टस गर्न ढिलाइ भएको अवस्थामा वर्षा बाधक बन्दा स्थगित गरियो । 



आयोजकले स्थगित भएका खेल नयाँ मितिमा खेलाइने भने पनि त्यो गाह्रो हुने देखिन्छ । लगातार तीन दिनको वर्षाका कारण बुधबारका लागि तय भएका खेल पनि हुने सम्भावना कम छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका तथा देशका केही स्थानमा अझै केही दिन वर्षा हुने सम्भावना छ । वर्षा हुने सम्भावना कायमै रहेकाले इपिएलमा स्थगित हुने खेल संख्या बढ्ने निश्चित छ । अन्तर्राष्ट्रिय क्यालेन्डर तथा विदेशी खेलाडीको व्यस्तताका कारण इपिएलको खेल तालिका निकै व्यस्त छ । 



जति धेरै खेल स्थगित हुँदै जानेछन् त्यति नै आयोजकका लागि व्यवस्थापन गर्न समस्या बढ्दै जानेछ । आयोजकलाई असोज २३ भित्र लिग सक्नुपर्ने बाध्यता छ । इपिएलको खेल तालिकाअनुसार समूह चरणमा बिहीबार, आइतबार र सोमबार मात्र १ खेल हुने छन् ।

आयोजकका लागि यी दिनमा स्थगित भएका ३ खेल खेलाउने विकल्प छ, तर त्योभन्दा बढीका लागि भने समय निकाल्न निकै गाह्रो छ । 

इपिएलको तालिकाअनुसार अक्टोबर ५ बाट प्लेअफका खेल सुरु हुनेछन् । त्यसलाई एक दिनपछि धकेलेर समूह चरणमा स्थगित भएका थप दुई खेल गर्न सकिने छ ।

यदपि यसको सम्भावना भने निकै कम छ । किनकी प्लेअफलाई एक दिन धकेलिएको खण्डमा इलिमिनेटर खेल्ने टोली फाइनल पुगेमा लगातार तीन खेल खेल्नुपर्ने हुन्छ ।  

यस्तो अवस्थामा पहिलो क्वालिफायर जित्दै फाइनल पुग्ने टोलीलाई फाइदा हुनेछ । त्यसैले यो सम्भावना पनि कम छ । यदी बुधबार पनि खेल हुन नसकेमा आयोजकका सामु स्थगित गरिएका खेललाई रद्द गरेर टोलीलाई अंक बाँड्नु बाहेकको अर्को विकल्प छैन । 

यसरी अंक बढ्ने स्थिति आएको खण्डमा १-१ जित हात पारेका काठमाडौँ किंग्स-११ र चितवन टाइगर्सलाई फाइदा पुग्ने देखिन्छ । पहिलो खेलमा पराजय बेहोरेका ललितपुर प्यािट्रयट्र्स र विराटनगर वारियर्सलाई भने घाटा हुनेछ ।  

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १८:३४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया