राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा के गर्छन् ?

मन्त्रिपरिषद् विस्तारसँगै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य राज्यमन्त्रीको रूपमा काम गर्दै आएका उनी अबदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेछन् । स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा र स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ आएका छन् । 

श्रेष्ठले स्वास्थ्य राज्यमन्त्रीको रूपमा ७५ दिन काम गर्न पाए । त्यो अवधीमा उनले नेपालका कोरोना भाइरसविरुद्धको खोप भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

शिक्षा र स्वास्थ्य क्षेत्रका व्यवसायी श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको थियो । डाक्टर गोविन्द केसीले उनलाई हटाउनु पर्ने माग राख्दै आएका थिए । उनले त्यसकाविरुद्धमा आमरण अनसन नै बस्ने चेतावनी समेत दिँदै आएका छन् । 

उनले राज्यमन्त्रीको रूपमा काम गरिरहँदा कर्मचारीको व्यापक रूपमा सरुवा गरेका थिए । जसले गर्दा कर्मचारीहरू उनीप्रति असन्तुष्ट बनेका थिए । कतिपयले त राज्यमन्त्री श्रेष्ठको कर्मचारी सरुवा बाहेक केही पनि प्रगति नरहेको बताउने गरेका छन् । 

प्रधानमन्त्री कार्यालयमा तानिएका राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अलग भएको जानकारी दिएका छन् । ​

'स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु। उक्त जिम्मेवारीमा छँदा यहाँहरुको सहयोग, सुझाव, आलोचना तथा हौसलाका लागि हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु। आगामी दिनमा सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टीले दिएको जिम्मेवारीलाई सहर्ष स्वीकार गर्दै अघि बढ्नेछु,' राज्यमन्त्री श्रेष्ठले लेखेका छन्। 



अब प्रधानमन्त्री कार्यालयमा गएपछि उनले के कस्तो काम गर्ने भन्ने यकिन भइसकेको छैन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमा तानेका थिए । रक्षा मन्त्रालयको जिम्मेवारी आफैंले लिएर उनलाई प्रधानमन्त्री कार्यालयको सम्पूर्ण कामकाज हेर्नेगरी जिम्मेवारी हेरफेर गरेका थिए । 

तर, राज्यमन्त्री श्रेष्ठले भने त्यसरी सम्पूर्ण कामकाज हेर्नेगरी पनि जिम्मेवारी पाउने छैनन् । प्रधानमन्त्री देउवासँगको सल्लाहअनुसार प्रधानमन्त्री कार्यालयको प्रशासनिक जिम्मेवारी उनले पाउनेछन् । 



  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १६:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया