दशैंमा धेरै घर फर्केनन्ः यसपटक करिव ६ लाखले काठमाडौं छोडे, दुई वर्षअघि १७ लाख फर्केका थिए

बिभिन्न वहानामा राजधानी काठमाडौं आउनेहरु अरु बेला घर नफर्किए पनि दशैंमा भने फर्कने गर्छन् । यो सिलसिला वर्षौंदेखि जारी छ । त्यसैले अरूबेला भन्दा दशैंमा काठमाडौं छोड्नेको लर्को निकै लामो हुने गर्छ । 

तर यसपटक भने यस्तो लर्को देखिएन । दशैंमा थोरै मात्र काठमाडौंबाट आफ्नो गाउँघर फर्के । ट्राफिक प्रहरीको तथ्याङ्कले यही भन्छ– यो वर्ष ज्यादै थोरैले मात्र काठमाडौं छोडे । 

‘असोज ११ देखि २६ गतेसम्मको अवधिमा ५ लाख ८८ हजार जनाले काठमाडौं उपत्यका छोडेका छन्,’ ट्राफिक प्रहरीका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले फरकधारलाई जानकारी दिए । 

यो वर्ष दशैं मनाउन १६ दिनमा जति काठमाडौंबाट फर्केका छन् अघिल्ला वर्षहरुमा त्यति संख्या एकै दिनमा फर्कने गर्थे । 

पछिल्ला दुई वर्षमा दशैंको बेला कोरोना महामारीका कारण काठमाडौं उपत्यका छोड्नेको संख्या कम भएको प्रहरीको बुझाई छ । ट्राफिक प्रवक्ता सञ्जीव शर्मा दास भन्छन्, ‘कोरोनाका कारण पोहोर र यस पटक दशैं मनाउन जानेको संख्या घटेको छ ।’ 

गत वर्ष (२०७७) दशैं कात्तिकका परेको थियो । गत वर्ष फूलपाती अघिको एक साता अर्थात २०७७ कात्तिक १ देखि ७ गतेसम्म बिभिन्न नाकाबाट १ लाख ७० हजार यात्रुले काठमाडौं उपत्यका छोडेका थिए । उक्त अवधिमा विभिन्न जिल्लाबाट ९७ हजार ८६८ जना यात्रुहरु काठमाडौं आएका थिए । 



२०७६ सालसम्म दशैं मनाउन काठमाडौंबाट ठूलो संख्यामा सर्वसाधारण घर फर्कने गर्थे । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार २०६६ सालमा असोज १८ गते फूलपाती परेको थियो । सो वर्ष फूलपातीको दिन मात्र ४ लाख ३२ हजार ७० जनाले काठमाडौं छोडेका थिए । 

२०७६ सालको फूलपाती अघिको एक सातामा काठमाडौंबाट १६ लाख ९५ हजार ३६० जना दशैं मनाउन गाउँघर फर्केको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । 
अहिले दशैं मनाउन जुन संख्यामा सर्वसाधारणले काठमाडौं छोडेका छन् त्योभन्दा ठूलो संख्याले २०७६ चैत ११ गते सरकारले कोरोना महामारी नियन्त्रण गर्न लकडाउन लगाउनुअघि काठमाडौं छोडेका थिए । 



२०७६ चैत ११ गते लकडाउन सुरु हुनु अघिको ५ दिनमा काठमाडौंबाट ८ लाख २ हजार ५९ जना आफ्नो गाउँ फर्केका थिए । 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १३:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया