‘होसियार ! कोरोना महामारीको अन्त्य भएको छैन’

झण्डै डेढ वर्ष संसारका मानिसको निद्रा र चैन लुटेको कोरोना महामारी फैलने क्रम केही घटेको छ । तर यसको अन्त्य नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख टेड्रोस एधनम गाब्रियससले चेतावनी दिएका छन् । 

दसैँ सुरु भएसँगै नेपालमा मानिसहरू भीडभाड गर्नेदेखि लिएर मास्कविनै सार्वजनिक स्थानहरूमा उपस्थित हुने क्रम बढेको छ । दसैँमा राजधानी छाडेर आ–आफ्नो थातथलो जानेको भीड देख्दा कोरोना महामारी अब बाँकी नरहेको महसुस हुन्थ्यो । उता, घना आवादी भएको छिमेकी भारतमा मानिसहरूको आवतजावतमा कुनै सावधानी अपनाएको देखिएको छैन । तर अवस्था त्यस्तो सहज नरहेको र महामारीले कुनै पनि समय मानिसलाई पुनः दुःख दिन सक्ने डब्ल्युएचओ प्रमुख गाब्रियससले बताएका हुन् ।

उनले संसारका देशहरूले स्वास्थ्य उपकरण र स्वास्थ्य सुविधाबारे प्रभावकारी ढंगमा काम गर्नुपर्ने पनि उल्लेख गरेका छन् । बर्लिनमा वल्र्ड हेल्थ समिटलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘कोरोना महामारी तब मात्रै समाप्त हुन्छ, जब संसारले यसलाई समाप्त गर्न चाहन्छ । यो हाम्रै हातमा छ । हामीसँग सबै उपकरणहरू छन्, जसको हामीलाई आवश्यकता छ । प्रभावकारी सार्वजनिक स्वास्थ्य उपकरण र प्रभावशाली चिकित्सा उपकरण पनि छ । तर संसारले ती उपकरहरूको उचित ढंगमा उपयोग गरिरहेको छैन । एक सातामा मात्रै ५० हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।’

स्वास्थ्यसम्बन्धी विश्व निकायका प्रमुख गाब्रियससले जी–२० देशहरूसँग आफ्ना ४० प्रतिशत नागरिकलाई कोभ्याक्सअन्तर्गत तथा अफ्रिकी भ्याक्सिन अधिग्रहण ट्रस्ट (एभ्याट)मा सक्रिय ढंगमा सामेल गर्न आग्रह पनि गरे । उनले संसारभर भ्याक्सिनेसनको क्रमलाई तीव्र पार्न अपिल गरे । डब्ल्युएचओले यसअघि पनि महामारीका सन्दर्भमा चिन्ता व्यक्त गर्दै आएको थियो ।

पछिल्ला महिना नेपालमा संक्रमणको दर केही कम हुँदै गएको देखिएको छ । तर मानिसहरू महामारी पूरै नियन्त्रण भइसकेको अवस्थामा जसरी खुल्लेआम जमघट गर्न र कार्यक्रमहरू आयोजना गर्न थालेका छन् । यसले संक्रमण कुनै पनि समय बढ्न सक्ने जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । उता, छिमेकी भारतमा विस्तारै संक्रमितको ग्राफ उकालो लाग्न थालेको देखिएको छ । खुल्ला सीमानाका कारण भारतमा महामारी बढ्दा नेपालमा पनि खतरा वृद्धि हुन्छ ।
 
बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण ४४३ जनाको ज्यान गएको छ । र, संक्रमितको संख्या साढे १४ हजार पुगेको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३,४१,८९,७७४ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४,५४,७१२ पुगेको छ । 

केही दिनअघि रुसमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको र एकैदिन हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । उता, जर्मनीमा पनि संक्रमण दर विस्तारै उकालो लाग्न थालेको छ । अहिलेसम्म निर्माण भएको कोरोनाविरुद्धको भ्याक्सिनमाथि पनि विभिन्न प्रश्न उठेको छन् । यसकारण पनि व्यक्तिगत स्वास्थ्य, भ्याक्सिन र सचेततामा ध्यान दिनुको विकल्प नरहेको चिकित्सकहरू बताउँछन् ।





  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १३:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया