नेपाली टोलीसँग ताजिकिस्तान र लेबनानलाई दबाबमा राख्न सक्ने क्षमता छ : मुख्य प्रशिक्षक महर्जन

नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यू–२३ एसियन कप छनोटमा ताजिकिस्तान र लेबनानलाई दबाबमा राख्न सकिने बताएका छन् ।

मुख्य प्रशिक्षक महर्जनले ताजिकिस्तान र लेबनान बलियो भएपनि बल पोसेसनमा पकड जमाउन सकेमा दुवै टोलीलाई दबाबमा राख्न सकिने बताएका हुन् ।

‘ताजिकिस्तान र लेबनानको खेल हेर्दा ताजिकिस्तान पनि राम्रो छ । राम्रा खेलाडी छन्, बलियो टोली पनि हो, प्राविधिक रुपमा राम्रो छ,’ प्रशिक्षक महर्जनले भने, ‘तर, इरानसँगको खेलमा जस्तो हामीले बल आफ्नो पक्षमाा राख्न सक्यौँ भने ताजिकिस्तान र लेबनानलाई दबाबमा राख्न सक्छौँ ।’

छनोटको दोस्रो खेलमा नेपालले बिहीबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

छनोटको पहिलो खेलमा भने नेपाल इरानसँग ४–० ले पराजित भएको थियो । पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो ।

प्रशिक्षक महर्जनले कमजोर तयारीका कारण पहिलो खेलमा हार बेहोरेको समेत बताए । ‘सोमबारको खेल हाम्रो पहिलो खेल हो । त्यसै पनि इरान विश्वकै एक सशक्त टिम हो ।’ तर त्यो टिमलाई पनि नेपालले पहिलो हाफमा गोलरहित बराबरी गर्न सफल भएको उनले बताए । उनले भने, ‘योजनाअनुसार राम्रो भयो, तर यो प्रतियोगिताको लागि हाम्रो जुन तयारी थियो, त्यसका लागि पर्याप्त समय र मैत्रीपूर्ण खेलहरु भएको भए अझ योभन्दा पनि राम्रो प्रदर्शन हुन्थ्यो ।’



महर्जनले दोस्रो हाफको सुरुआतमै गोल खाएपछि टिम दबाबमा आएको बताए । ‘दोस्रो हाफको सुरुवातमै जुन गोल खान पुग्यौँ, त्यो हामीले होल्ड गर्न सकेनौँ । हाम्रो राम्रो नतिजा हुन्थ्यो जस्तो लाग्छ, किनकि हामीले दोस्रो हाफको सुरुवातमै गोल खान पुग्यौँ ।’   

उनले थपे, ‘दुई मिनेटमै दुई गोल खानपुग्दा, फिटनेस तथा एकाग्रताको कमी साथै उनीहरुले डिफेन्समा धेरै दबाब दिए,  जुन हाम्रा डिफेन्डरले थेग्न सकेनन् ।’
 
प्रशिक्षक महर्जनले  टिममा बल आफ्नो पक्षमा राखेर अट्याक्ट गर्ने क्षमता रहेको र बल आफ्नो पक्षमा राख्न सक्नु नै नेपालको लागि राम्रो कुरा भएको बताए ।



छनोटको यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै, दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया