स्मिथ र वार्नरको क्रिकेट यात्रा : प्रतिबन्धदेखि विश्व विजेता

२४ मार्च २०१८ अघिसम्म अस्ट्रेलिया टिमका तल्कालिन कप्तान स्टिभ स्मिथ र डेविड वार्नर आफ्नो करियरको उच्च लयमा । तर यो दिन अचानक उनीहरूको करिअरले नयाँ मोड लियो । कारण थियो बल टेम्परिङ ।

यो दिन घरेलु टोली दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच ४ खेलको टेस्ट सिरिजअन्तर्गत तेस्रो टेस्टको तेस्रो दिन चलिरहेको थियो । ४३ औँ ओभरमा क्यामरुन बेनक्राफ्टले पहेँलो वस्तुले बललाई रगडेको देखिएको थियो । टिभी रिप्लेमा यो हर्कत देखिएपछि अम्पायरले तत्काल अर्को बल मगाएर अस्ट्रेलियालाई ५ अंक जरिवाना गरेका थिए । 

पछि अनुसन्धान गर्दा बल टेम्परिङको उद्देश्यले यस्तो गरिएको पाएपछि क्रिकेट अस्ट्रेलियाले आफ्ना कप्तान स्मिथ तथा उपकप्तान वार्नरलाई १२ महिना तथा बलर बेनक्राफ्टलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धमा परेपछि स्मिथले आफूले देशका निम्ती यस्तो कदम चालेको बताउँदै रोएको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । उनीहरूको यो कदमको खुबै समर्थन र विरोध भयो । प्रतिबन्धको समयमा यी दुई खेलाडीले अन्तर्राष्ट्रिय खेल गुमाए । यद्यपि उनीहरूले केही घरेलु प्रतियोगितामा भने सहभागिता जनाए । यसले गर्दा उनीहरूलाई पुनरागमनमा केही सहयोग पुर्‍यायो । 

१२ महिनाको प्रतिबन्धपछि मैदानमा फर्किंदा स्मिथ र वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे । हालै सकिएको टी–२० विश्वकप अष्ट्रेलियालाई जिताउन वार्नरको भूमिका पनि अहम् रह्यो ।  

प्रतिबन्ध फुकुवा भएपछि पहिलो टेस्ट सिरिजमा स्मिथको प्रदर्शन



प्रतिबन्धपछि स्मिथले इंग्ल्यान्डविरुद्धको एसेज सिरिजमार्फत १ अगस्ट २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे । उनले पाँच खेलको यो सिरिजमा दुई शतक र एक दोहोरो शतकसहित ७७४ रन बनाए ।

स्मिथले पहिलो टेस्टका दुवै पारीमा शतक बनाएका थिए । उनले पहिलो टेस्टको पहिलो पारीमा १४४ र दोस्रो पारीमा १४२ रनको शानदार पारी खेले । दोस्रो टेस्टको पहिलो पारीमा ९१ रन बनाएका स्मिथले दोस्रो पारीमा ब्याटिङ गर्नु परेन । स्मिथले सिरिजको तेस्रो टेस्ट भने खेलेनन् ।  



चौथो टेस्टको पहिलो पारीमा २११ रन बनाएका स्मिथले दोस्रो पारीमा ८२ रन जोडे । उनले पाँचौ तथा अन्तिम टेस्टको पहिलो पारीमा ८० र दोस्रो पारीमा २३ रन बनाए ।

टी-२० मा स्मिथको प्रदर्शन 

स्मिथले ३० अक्टोबर २०१९ मा श्रीलंकाविरुद्ध ३ खेलको सिरिजअन्तर्गत दोस्रो खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा पुनरागमन गरे । उनले यो सिरिजका २ खेलमा एक अर्धशतकसहित ६६ रन बनाए ।  आफ्नो पहिलो खेलमा अविजित रहँदै ५३ रन बनाएका स्मिथले दोस्रो खेलमा १३ रन जोडे ।

एकदिवसीयमा स्मिथको प्रदर्शन 

स्मिथले १७ जनवरी २०२० मा भारतविरुद्ध ३ खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमार्फत यो प्रारूपको अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गरे । उनले सो सिरिजको २ खेलमा एक अर्धशतकसहित १२२ रन बनाए । स्मिथले आफ्नो पहिलो खेलमा ९८ र दोस्रो खेलमा २४ रन बनाए । 

टी-२० विश्वकपमा स्मिथको प्रदर्शन 

प्रतिबन्धपछि आइसिसी विश्वकपमा भने स्मिथले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रतियोगितामा सातमध्ये चार खेलमा ब्याटिङ गर्ने मौका पाएका उनले मात्र ६९ रन मात्र बनाउन सके ।   

स्मिथले दक्षिण अफ्रिकाविरुद्ध ३५, श्रीलंकासँग अविजित २८, इंग्ल्यान्डविरुद्ध एक र पाकिस्तानसँग पाँच रन जोडे । 

प्रतिबन्ध फुकुवापछि पहिलो टेस्ट सिरिजमा वार्नरको प्रदर्शन

वार्नरले पनि एसेज सिरिजमार्फत नै अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गरेका थिए । तर सो सिरिजमा उनको प्रदर्शन भने सोचे अनुरूपको हुन सकेन । 

वार्नरले पाँच टेस्टमा एक अर्धशतकसहित ९५ रन मात्र बनाउन सके । उनले पहिलो टेस्टको पहिलो पारीमा दुई र दोस्रो पारीमा आठ रन जोडे । दोस्रो टेस्टमा वार्नरले पहिलो पारीमा तीन र दोस्रो पारीमा पाँच रन बनाए ।  

तेस्रो टेस्टको पहिलो पारीमा ६१ बनाएका वार्नरले दोस्रो पारी तथा चौथो टेस्टको दुवै पारीमा रनको खाता खेल्न सकेनन् । उनले पाँचौ तथा अन्तिम टेस्टको पहिलो पारीमा पाँच र दोस्रो पारीमा ११ रन बनाए ।

 टी-२० सिरिजमा वार्नरको प्रदर्शन  

वार्नरले २७ अक्टोबर २०१९ मा श्रीलंकाविरुद्धको खेलबाट टी–२० अन्तर्राष्ट्रियमा पुनरागमन गरे । ३ खेलको यो सिरिजमा उनले दुई अर्धशतक र एक शतकसहित २१७ रन बनाए । उत्कृष्ट प्रदर्शन गर्दै सिरिजको तीनै खेलमा अविजित रहेका वार्नरले क्रमश : १००, ६० र ५७ रन बनाए । 

एकदिवसियमा वार्नरको प्रदर्शन

स्मिथले १४ जनवरी २०२० मा भारतविरुद्ध ३ खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो म्याचमार्फत एकदिवसिय अन्तर्राष्ट्रियमा पुनरागमन गरे ।

सिरिजका सुरुवाती दुई खेलमा माैका पाएका वार्नरले १ शतकसहित १४३ रन प्रहार गरेका थिए । पहिलो खेलमा अविजित रहँदै १२८ रन बनाएका उनले दोस्रो खेलमा १५ रन जोडे । 

आइसिसी टी-२० विश्वकपमा वार्नरको प्रदर्शन 

अस्ट्रेलियालाई पहिलोपटक टी–२० विश्वकप दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वार्नर प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ७ खेलमा ३ अर्धशतकसहित २८९ रन बनाए । 

वार्नरले टी–२० विश्वकप २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १४, श्रीलंकासँग ६५,इग्ल्यान्डसँग १, बंगलादेशविरुद्ध १८, वेस्ट इन्डिजविरुद्ध अविजित ८९, पाकिस्तानसँग ४९ र न्युजिल्यान्डविरुद्ध ५३ रन बनाए । 

बल टेम्परिङमा फसेपछि १२ अन्तर्राष्ट्रिय क्रिकेट बाहिर रहँदा स्मिथ र वार्नरले विभिन्न आरोपको सामना गर्नुपर्‍यो । त्यति मात्र नभएर उनीहरूको जिम्मेवारी पनि खोसियो । यसका बाबजुद पनि स्मिथ र वार्नरले उत्कृष्ट कमब्याक मात्र गरेनन् अष्ट्रेलियालाई पहिलोपटक टी–२० विश्वकप जिताउन ठूलो भूमिका खेले ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ११:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया