शिक्षक नआएपछि वडाध्यक्षले लगाइदिए विद्यालयमा ताला
सांकेतिक तस्बिर

उदयपुरकाे एक विद्यालयमा वडाध्यक्षले ताला लगाइदिएका छन् ।

कटारी नगरपालिका- १२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडाध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका हुन् । 

दसैं तिहारकाे बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् । 

कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दसैंअघि एक साता खुलेको थियो । चाडबाड सकिएर विद्यालय खुलिसक्दा पनि शिक्षक कर्मचारी नआएपछि बाध्य भएर ताला लगाएको अभिभावकहरूले बताएका छन् । 

चालु शैक्षिकसत्र असारबाट सुरु भए पनि विद्यार्थीहरूले वैशाखयता पढ्न पाएका छैनन् । लामो बिदापछि विद्यालय खुले पनि शिक्षक नआएपछि बाध्य भएर विद्यालयमा ताला लगाएको कटारी नगरपालिका–१२ का वडाध्यक्ष चन्द्रदीप पौडेलले जानकारी दिए । 

२०१७ सालमा बसेरीमा स्थापना भएको जनमुखी माध्यमिक विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।



दसैं तिहारको बिदापछि विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौधरीसहित नौ जना शिक्षक कर्मचारी आएका छैनन् । विद्यालयमा १६ जना शिक्षक कर्मचारी कार्यरत छन् । आधाभन्दा बढी शिक्षक नआएपछि बाध्य भएर तालाबन्दी गरेको वडाध्यक्ष पौडेलले बताए । 

विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य बिग्रिएको भन्दै तालाबन्दी भएकाे हो । विद्यालय सुधारका लागि बारम्बार छलफल गर्ने गरिएको र शैक्षिक गतिविधिलाई सुधार्न नगरपालिकासहित बसेर विभिन्न निर्णय गरे पनि प्रधानाध्यापक चौधरीले कार्यान्वयन नगरेको अभिभावकहरूको गुनासो छ । तालाबन्दीपछि विद्यालयमा अध्ययनरत करिब पाँच सय विद्यार्थी अन्योलमा परेका छन् । 



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १२:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया