कांग्रेस महाधिवेशन : सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्न निधिको आग्रह

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनलाई सफल बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनकपुर नगर अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उपसभापति निधिले मुलुकमा शान्ति, विकास र समृद्धिका लागि भएका परिवर्तनहरूमा कांग्रेसको ठूलो योगदान रहेको बताए ।

मुलुकमा भएको विकृति विसंगतिको अन्त्य गर्नका लागि कांग्रेसका नेता तथा कार्यकर्ता शासक नभइ सेवकको रूपमा काम गर्न आवश्यक भएको बताउँदै निधिले महाधिवेशन सफल बनाउन पार्टीका सबै तहको नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह समेत गरे ।

कांग्रेसको अगुवाइमा नै मुलुकमा संघीयता, गणतन्त्र, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता सहितको संविधान निर्माण भएको भन्दै यसमा समय सापेक्ष परिमार्जन गरेर सबैको माग सम्बोधन हुने उनले विश्वास व्यक्त गरे ।

कांग्रेस जनकपुर नगरसभापति मनोजकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, प्रतिनिधिसभा सांसद स्मृतिनारायण चौधरी, केन्द्रीय सदस्य मिनाक्षी झालगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

उपसभापति निधि आफ्नो गृहनगर धनुषाको नगराइन नगरपालिकाको नगर अधिवेशनमा समेत सहभागी भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १५:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया