एमाले महाधिवेशनप्रति माधवकुमार नेपालको व्यङ्ग्य– एमालेबाट किन विद्रोह गर्‍यौं चितवनको तमासा नै पर्याप्त छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह ​ गरेको दाबी गरेका छन् । 

सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्रोह ​ गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको टिप्पणी समेत गरे । 

‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा विद्रोह गरेका छौँ । नेकपा एमालेबाट विद्रोह गर्‍यौं । किन विद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ,’ अध्यक्ष नेपालले भने । 

उनले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए ।

नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने उनले जनाए । अध्यक्ष नेपालले थप स्पट पारे, ‘नेताले​ बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरू प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरू सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन । त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’ 

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको तर्क गरे । 



उनले राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखाएको बताए ।

अहिले बामपन्थी, लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरूबाट मुक्ति दिलाएको दाबी उनले गरे । 



अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरूको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरूप्रति अत्यन्त सजग भएको बताए । उनले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागि पर्ने जनाए । 

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया